नेपालगन्ज असोज ४- खसी खरिदका विषयमा सुरु भएको सामान्य विवादले गम्भीर रूप लिँदा नेपालगन्जमा एक जनाको ज्यान गएको छ । घटना नेपालगन्ज उपमहानगरपालिका–५, बेहना टोलमा शुक्रबार साँझ घटेको हो ।
प्रहरीका अनुसार खसी किन्नका लागि नजिकका नातेदारबीच भएको सानो विवाद उग्र भएपछि झडपको रूप लिएको थियो । कुटपिटका क्रममा गम्भीर घाइते भएका ३५ वर्षीय जाबिर अलि बेहनाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुस्ताक अलि बेहना, इसराक अलि बेहना, चाँद बाबु बेहना र सेराज अलि बेहना रहेका छन् । उनीहरू चारै जना मृतक जाबिरका नातेदार हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले घटनाबारे जानकारी दिँदै प्रारम्भिक रूपमा सामान्य विवादकै कारण कुटपिट भएको देखिए पनि प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान गरिरहेको बताए ।
“सुरुमा विवाद सामान्य नै थियो,” मृतकका आफन्त अजमत अलि बेहनाले घटनाको स्मरण गर्दै भने, “तर पछि ढुङ्गामुढा र घरेलु हतियार प्रयोग भएपछि अवस्था भयावह बन्यो । हामीले मिलाउने प्रयास गर्यौं, तर सकिएन ।”
नेपालगन्ज–५ का वडा अध्यक्ष सराफत अलि शेषले पनि घटनाप्रति दुःख व्यक्त गर्दै यसअघि विवाद सुल्झाउन प्रयास गरिए पनि चाँडै नियन्त्रणमा लिन नसकिएको बताए । उनका अनुसार अहिले बेहना टोल शोकमा डुबेको छ । परिवार र छिमेकीहरू गहिरो तनावमा छन् ।
हाल प्रहरीले घटनामा संलग्न सबै पक्षका बयान लिइरहेको छ भने पोष्टमार्टम रिपोर्टको प्रतिक्षामा थप अनुसन्धान अघि बढाइएको छ ।


