Monday, December 15, 2025
spot_imgspot_img
Homeसमाजबीमा भुक्तानी समयमा नहुँदा भेरी अस्पतालको सेवा प्रभावित

बीमा भुक्तानी समयमा नहुँदा भेरी अस्पतालको सेवा प्रभावित

नेपालगञ्ज असोज ६-नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्य बीमा बोर्डले समयमा भुक्तानी नगर्दा सेवा प्रवाहमा गम्भीर समस्या देखिएको छ। अस्पतालले उपचार सेवाबापतको करिब साढे १८ करोड रुपैयाँ बीमा बोर्डसँग पाउन बाँकी रहेको जनाएको छ। साथै, सामाजिक सेवा एकाइमार्फत दिइने सेवा अन्तर्गतको डेढ करोड रुपैयाँ भुक्तानी समेत नहुँदा अस्पतालको दैनिक सेवा सञ्चालनमै असर परेको हो।

भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. निराजन सुवेदीका अनुसार बीमा बोर्डबाट असार मसान्तसम्म साढे १६ करोड रुपैयाँ र साउन महिनाको १ करोड ९० लाख गरी जम्मा साढे १८ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ। साथै, विपन्न वर्गको उपचारका लागि छुट्याइएको डेढ करोड रुपैयाँ पनि अहिलेसम्म अस्पताललाई प्राप्त भएको छैन।

“बोर्डबाट रकम नआउँदा ल्याब र फार्मेसी सेवा सञ्चालन गर्न समेत कठिन भइरहेको छ,” डा. सुवेदीले बताउनुभयो, “अहिले अस्पतालमा करिब ६० प्रतिशत बिरामीले स्वास्थ्य बीमा अन्तर्गत सेवा लिइरहेका छन्। तर, त्यसबापतको भुक्तानी नै समयमै नआउँदा समस्या थपिएको छ।”

अस्पतालको सेवा लिने बिरामीहरू पनि समस्याबाट अछुतो छैनन्। बीमा योजनामा सूचीकृत धेरैजसो औषधी उपलब्ध नभएकाले बिरामीहरूलाई बाहिरबाट औषधी किन्नुपर्ने बाध्यता छ।

रुकुमबाट मिर्गौला प्रत्यारोपणका लागि आएका एक जना बिरामीले गुनासो गर्दै भने, “नेपाल सरकारले बीमा त गरिदियो, तर आवश्यक औषधी उपलब्ध गराउन सकेन। मजस्ता टाढाबाट आएका बिरामीलाई औषधी नै नपाउँदा झनै सास्ती भएको छ। यो सम्बन्धित निकायले गम्भीरतापूर्वक लिनुपर्छ।”

अस्पताल सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले पनि बीमा बोर्डबाट नियमित भुक्तानी नआउँदा अस्पतालका सेवा प्रणालीमा व्यापक असर परेको बताएका छन्। “भुक्तानीमा ढिलाइ भएपछि, विभिन्न सप्लायर्सले समेत औषधी र उपकरण आपूर्ति रोक्ने चेतावनी दिइरहेका छन्,” उहाँले जानकारी दिनुभयो।

यस अवस्थाले देखाउँछ कि सरकारको स्वास्थ्य बीमा कार्यक्रम जनस्तरमा विस्तार भए पनि त्यसलाई भरपर्दो बनाउन भुक्तानी प्रणालीमा सुधार आवश्यक छ। अस्पतालहरूलाई समयमै भुक्तानी सुनिश्चित गर्न नसक्ने हो भने सेवाको गुणस्तर र विश्वसनीयता दुवैमा गिरावट आउने खतरा रहन्छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments