नेपालगन्ज असोज ६- बाँके जिल्लास्थित दुई बालसुधार गृह र एक क्षेत्रीय कारागारबाट हालै भागेका ३४० जना बालबन्दी र कैदीमध्ये २५९ जना अझै फरार रहेका छन्। बाँकी ८१ जना भने सुरक्षाकर्मीको सक्रियतामा पक्राउ परिसकेका छन्।
डुडुवास्थित जयन्दु बालसुधार गृहका प्रमुख किशोर शर्माका अनुसार सो सुधारगृहमा रहेका २२८ जना बालबन्दीमध्ये ११५ जना भागेका थिए। तीमध्ये हालसम्म ३३ जनालाई पक्राउ गरिएको छ भने ८२ जनाको खोजी कार्य जारी छ।
यस्तै, नौबस्तामा रहेको अर्काे बालसुधार गृहबाट पनि ठूलो संख्यामा बालबन्दी फरार भएका छन्। सो सुधारगृहमा रहेका १७६ जना बालबन्दीमध्ये प्रहरीले झडपका क्रममा गोली चलाउँदा पाँच जनाको ज्यान गएको थियो। बाँकी ७८ जना भाग्न सफल भएका थिए, जसमध्ये २३ जनालाई पक्राउ गरिएको छ। अझै ५५ जना फरार छन्।
त्यसैगरी, नौबस्ताकै क्षेत्रीय कारागारबाट १४७ जना कैदी भागेका थिए। कारागारका प्रमुख जालन्धर भुषालका अनुसार तीमध्ये २५ जनालाई नियन्त्रणमा लिइएको छ भने बाँकी १२२ जना फरार छन्। उक्त कारागारमा कुल ५८५ जना कैदी थिए।
जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार फरार रहेका सबै २५९ जना बालबन्दी र कैदीको खोजी कार्य तीव्र पारिएको छ। यतिबेला सुरक्षा निकायहरूलाई अत्यधिक सतर्क बनाइएको छ र सीमावर्ती क्षेत्रहरूमा निगरानी कडा बनाइएको बताइएको छ।
यो घटनाक्रम जेनेजी आन्दोलनका बेला भएको हो। आन्दोलनको चपेटामा परेको बेला देशभरका थुप्रै बालसुधार गृह र कारागारहरूमा कैदीबन्दीहरूले भाग्ने प्रयास गरेका थिए। नेपालगन्जस्थित मुख्य कारागारबाट पनि कैदीहरूले भाग्ने प्रयास गरेका थिए। तर, नेपाली सेनाको घेराबन्दीका कारण त्यहाँबाट कोही भाग्न सफल भएनन्। सेनाको गोली चलाउँदा कैलालीका एक जना कैदीको खुट्टामा गोली लागेको थियो।


