बाँके । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बैजनाथ–५ ले वडा भेला साथै नेपालीहरुको महान चाडपर्वहरु विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
बैजनाथ–५ स्थित प्रभात नमुना माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बैजनाथ–५ का अध्यक्ष भिख्खु थारुको अध्यक्षता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) बाँके जिल्ला संयोजक नरेन्द्र पान्डे “जेम्स” रहनुभएको थियो। उहाँले नेपालीहरुको साझा संस्कृतिका रुपमा मनाइने दशैं, तिहार र छठ पर्वले आपसी भाइचारा, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउन सहयोग गर्ने बताउनुभयो। साथै, उहाँले यस अवसरमा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र दीर्घायुको शुभकामना व्यक्त गर्नुभयो।
सोही अवसरमा प्रदेश कमिटी सदस्य तथा पालिका इञ्चार्ज दलसिंह नाथ योगी “सुन्दर”दिनेश कुमार शर्मा, प्रदेश कमिटी सदस्य एवं वडा इञ्चार्ज समिन इद्रीसी, प्रदेश सदस्य कुबेर रिजाल, जिल्ला सदस्य मिरा कार्की, बैजनाथ अध्यक्ष जयबहादुर बिक “प्रदिप” लगायतका नेताहरुले समेत आ–आफ्ना भनाइ राख्दै पर्वले ल्याउने खुशी, आशा र आपसी एकताको सन्देशलाई आत्मसात गर्दै सबै नेपालीमा उज्ज्वल भविष्य, स्वास्थ्य र समृद्धिको मंगलकामना गर्नुभयो।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको वडा संयोजक ईश्वरनाथ योगीले जानकारी दिनुभयो।
कार्यक्रमका सभाध्यक्ष भिखु थारुले कार्यक्रममा उपस्थित सबै नेताकार्यकर्तालाई धन्यवाद ब्यक्त गर्दै बिजया दशमी शुभ दिपावली एवं छठ पर्वको शुभकामना ब्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।शुभकामना कार्यक्रम वडा सचीव सरस्वती त्रीपाठीले संचालन गरेको जिल्ला सदस्य मिरा कार्कीले बताउनुभयो ।



