पश्चिम नवलपरासी असोज १० – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीमा हालैका आन्दोलनका क्रममा क्षति पुगेका सरकारी तथा निजी सम्पत्तिहरूको आज स्थलगत निरीक्षण गर्नुभएको छ।
आन्दोलनको क्रममा सरकारी कार्यालयहरूमा भएको आगजनी र तोडफोडबाट महत्त्वपूर्ण कागजात र संरचनामा क्षति पुगेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले यस्ता कार्यलाई गम्भीर आपराधिक गतिविधिका रूपमा ब्याख्या गर्नुभयो।
मुख्यमन्त्री आचार्यले भन्नुभयो, “जेनजी आन्दोलनले भ्रष्टाचार र सुशासनको मुद्दालाई उठान गरेको भए तापनि सार्वजनिक सम्पत्तिमा यसरी तोडफोड र आगजनी गर्नु अत्यन्तै निन्दनीय र बदला लिन खोजिएको कार्य हो। यस्तो हिंसात्मक गतिविधि आन्दोलनको उद्देश्यसँग मेल खान्न।”
उहाँले क्षतिग्रस्त कार्यालयहरूबाट सेवा प्रवाह अवरुद्ध नहोस् भनेर तत्काल राहतको व्यवस्था गरिएको र अस्थायी टेन्टमार्फत सेवा प्रवाहका लागि कर्मचारीहरूलाई खटाइएको जानकारी दिनुभयो। साथै, पुनःस्थापना तथा व्यवस्थापनका लागि प्रदेश सरकारले आवश्यक कदम चालेको उहाँले स्पष्ट पार्नुभयो।
मुख्यमन्त्री आचार्यले आन्दोलनको क्रममा एक व्यक्तिको राजनीतिक संलग्नताका कारण पूरै परिवारले दु:ख पाउनु परेको घटनाप्रति पनि गहिरो चिन्ता प्रकट गर्नुभयो।
पश्चिम नवलपरासीमा सबैभन्दा धेरै निजी सम्पत्तिमा क्षति पुगेको तथ्याङ्क आएको छ। प्रदेश सरकारका अनुसार मुख्यमन्त्रीले जिल्लामा भएका सबै क्षतिग्रस्त संरचनाहरूको प्रत्यक्ष अवलोकन गर्ने कार्यतालिका बनाइएको छ।


