बैजनाथ/बाँके गत भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट तथा तोडफोडबाट क्षतिग्रस्त बनेका विभिन्न सरकारी कार्यालयहरूलाई बैजनाथ गाउँपालिकाले सहयोग स्वरूप आवश्यक सामाग्री प्रदान गरेको छ ।

गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय बाँके, उच्च अदालत नेपालगन्ज इजलास र कोहलपुर नगरपालिकालाई कम्प्युटर र प्रिन्टर एक–एक थान सहयोग गरेको हो ।
एक औपचारिक समारोहबीच बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले उक्त सामाग्रीहरू बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पुर्णबहादुर खत्री, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी, र उच्च अदालत नेपालगन्ज इजलासका कर्मचारीलाई हस्तान्तरण गर्नुभएको हो ।
सामाग्री हस्तान्तरण गर्दै अध्यक्ष शाहीले जेन–जी आन्दोलनका क्रममा ठुलो भौतिक क्षति पुगेका कार्यालयहरूको सेवा सञ्चालनमा सहजता ल्याउनका लागि गाउँपालिकाबाट सहयोग गरिएको बताउनुभयो । उहाँले यसअघि ईलाका प्रशासन कार्यालय कोहलपुरलाई पनि यस्तै खालको सहयोग गरिएको स्मरण गर्नुभयो ।
सामाग्री प्राप्त गरेका कार्यालयका प्रतिनिधिहरूले कम्प्युटर र प्रिन्टर प्राप्त भएपछि सेवाग्राहीका कामहरू छिटो र प्रभावकारी रूपमा गर्न सहज हुने विश्वास व्यक्त गरेका थिए ।
सामाग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका प्रशासन शाखा प्रमुख तप्तराज आचार्यलगायत कर्मचारीहरूको पनि उपस्थिती रहेको थियो ।


