बाँके: बैजनाथ गाउँपालिका कृषि विकासको सहजीकरण र पोषण परियोजना “बी ग्रुप” को आयोजनामा आईतवारदेखि बुधबारसम्म चार दिने कृषि तथा पोषण सम्बन्धी तालिम कार्यक्रम शुरु भएको छ। उक्त तालिम बैजनाथ गाउँपालिका–५ स्थित कृष्ण कमल पार्टी प्यालेसको सभाहलमा सञ्चालन भइरहेको छ।
कार्यक्रममा बैजनाथ गाउँपालिका–३ र ८ नम्बर वडाका २५ जना अगुवा कृषकहरुको सहभागिता रहेको छ। आईतवार तालिम उद्घाटन सत्रमा बी ग्रुप का पोषण कृषि तथा बजारीकरण सहजकर्ता सन्दीप कुमार थारुले उद्घाटन गर्नुभएको हो।
उद्घाटन सत्रमा बैजनाथ गाउँपालिका कृषि विकास शाखा प्रमुख प्रमोद कुमार विश्वकर्मा, बी ग्रुप का कृषि अधिकृत विशाल के.सी., स्थानीय कृषक तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।
चार दिनसम्म सञ्चालन हुने उक्त तालिममा प्रशिक्षक प्रमोद कुमार विश्वकर्माले जग्गा छनोट, जग्गा तयारी तथा माटो व्यवस्थापन सम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको छ। तालिमको सञ्चालन बी ग्रुप का सन्दीप कुमार चौधरीले गर्नुभएको हो।

पोषण र बजारमुखी कृषि प्रणालीको विकासका लागि सञ्चालन गरिएको यस तालिमले सहभागी कृषकहरूलाई व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्य रहेको आयोजक संस्थाले जनाएको छ।


