नेपालगन्ज, कात्तिक १९ – बाँकेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिलकुमार तामाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सफल बनाउन सबै संयन्त्र परिचालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
नेपालगन्जमा आयोजित पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा प्रजिअ तामाङले जिल्लाको संवेदनशीलता र भौगोलिक विशेषताका कारण शान्ति, सुरक्षा र सामाजिक सद्भावलाई प्राथमिकतामा राखी काम गर्ने बताउनुभयो।
उहाँले निर्वाचन सफल बनाउन सबै पक्षको साझा जिम्मेवारी हुने उल्लेख गर्दै आफ्नो भूमिकालाई कानुनले तोकेको दायराभित्र रही इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“सिडिओले गर्नुपर्ने काम कानुनले नै निर्धारण गरेको छ,” उहाँले भन्नुभयो, “म बाँकेमा त्यो जिम्मेवारी इमानदारीका साथ पूरा गर्नेछु। मेरा काम–कारबाहीबारे आलोचना र प्रश्न गर्न सक्नुहुन्छ, त्यसलाई सकारात्मक रूपमा लिन्छु ।
प्रजिअ तामाङले भारतीय सीमावर्ती बाँके जिल्लाको विशेष संवेदनशीलतालाई ध्यानमा राख्दै शान्ति–सुरक्षा सुदृढ गर्न र धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबै सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने योजनाको पनि जानकारी दिनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईँ, प्रदेश सचिव गोविन्द शर्मा, बाँके शाखाका अध्यक्ष नविन गिरी, पूर्व अध्यक्ष रुद्र सुवेदी, पत्रकार अर्जुन ओली, प्रियास्मृति ढकाल र विजय मल्ललगायतले सूचना प्रवाहमा पारदर्शिता र छरितोपनाको अपेक्षा राख्दै प्रजिअलाई मिडिया–मैत्री ढंगले काम गर्न सुझाव दिनुभयो ।
सो अवसरमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण बहादुर खत्री र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका उप–अनुसन्धान निर्देशक हरिश बहादुर विष्टको समेत उपस्थिति थियो ।


