नेपालगञ्ज कात्तिक १८ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण सुरु हुनुअघि लुम्बिनी प्रदेशका बाँके र बर्दियामा आयोजित ट्रफी टुर कार्यक्रममा नागरिकको सहभागिता र उत्साहले नेपाली क्रिकेटको रौनक बढाएको छ।
लुम्बिनी लायन्स टिमको पहलमा गरिएको ट्रफी टुर अन्तर्गत कोहलपुर, नेपालगञ्ज र बाँसगढी लगायत स्थानमा एनपीएल ट्रफी प्रदर्शन गरिएको थियो। कार्यक्रमले लिगप्रतिको जनचासो र समर्थनलाई थप सशक्त बनाएको आयोजकले बताएका छन्।
ट्रफी टुरका क्रममा ट्रफीलाई कोहलपुर चौराहा, कोहलपुर क्रिकेट मैदान, नेपालगञ्जको वागेश्वरी मन्दिर, मङ्गलप्रसाद मावि र नेपालगञ्ज रंगशालामा प्रदर्शन गरिएको थियो।
कोहलपुर चौराहामा आयोजित विशेष कार्यक्रममा कोहलपुर नगरपालिकाकी उपप्रमुख सङ्गीता पौडेल, नेपाल क्रिकेट संघका केन्द्रीय छनोट समितिका सदस्य तथा पूर्व कप्तान लेखबहादुर क्षेत्री, र महिला राष्ट्रिय टिमकी पूर्व उपकप्तान ममता थापाले संयुक्त रूपमा ट्रफीलाई स्वागत गर्नुभयो।
ममता थापाले ट्रफी टुरलाई नेपाली क्रिकेट इतिहासमा नयाँ अध्यायको रूपमा लिइएको बताउनुभयो।
उहाँले भनिन्, “विश्वकप ट्रफी टुरझैं नेपाल प्रिमियर लिगको ट्रफी टुरले जनतालाई क्रिकेटसँग अझ नजिक ल्याउने काम गरेको छ।”
त्यसैगरी, लुम्बिनी लायन्सका मेन्टर शक्ति गौचनले विभिन्न स्थानमा नागरिक र क्रिकेटप्रेमीहरूले ट्रफीको भव्य स्वागत गरेको बताउनुभयो।
उहाँले भन्नुभयो, “ट्रफी टुरले एनपीएलको दोस्रो संस्करणप्रति नागरिकमा झन् बढी उत्सुकता र अपेक्षा जगाएको छ।”
कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स टिमले पहिलो संस्करणमा औसत प्रदर्शन गरे पनि यसपटक उपाधि जित्ने लक्ष्यसहित तयारीमा रहेको जनाएको छ।
एनपीएलको दोस्रो संस्करण आगामी मङ्सिर १ गतेदेखि सुरु हुँदैछ, र लुम्बिनी प्रदेशका विभिन्न २८ स्थानमा ट्रफी टुर सम्पन्न भइसकेको आयोजकले जानकारी दिएको छ।


