Sunday, November 9, 2025
spot_imgspot_img
Homeसमाजप्रादेशिक अस्पतालमा दुई सिफ्ट सञ्चालन गरी सेवा प्रभावकारी बनाउँछौँ : मुख्यमन्त्री आचार्य 

प्रादेशिक अस्पतालमा दुई सिफ्ट सञ्चालन गरी सेवा प्रभावकारी बनाउँछौँ : मुख्यमन्त्री आचार्य 

दाङ कात्तिक १९- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पतालहरूमा बिरामीको बढ्दो चाप समाधानका लागि उपचार सेवा दुई सिफ्टमा सञ्चालन गर्न सकिने बताएका छन्। मङ्गलबार राप्ती उपत्यका (देउखुरी) मा आयोजित लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रादेशिक अस्पतालको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन रचनात्मक ढंगले काम गर्न निर्देशन दिएका हुन्।

उहाँले भन्नुभयो, “प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा चलाउन सकिन्छ। जनशक्ति पर्याप्त छ, तर बिरामीहरू सहज रूपमा सेवा पाउन सकेका छैनन्। रचनात्मक रूपमा सेवा विस्तार गरेर समस्या समाधान गर्न सकिन्छ।” मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा दुई सिफ्ट प्रणाली लागू गर्ने गरी योजना बनाउन पनि निर्देशन दिएका छन्।

जिल्लास्तरमै उपचार सेवा विस्तार गर्न निर्देशन

मुख्यमन्त्री आचार्यले जिल्ला तहका अस्पतालहरूमा उपचार सेवा सुदृढ गर्न जोड दिँदै अनावश्यक रूपमा बिरामीलाई रिफर गर्ने प्रवृत्ति अन्त्य गर्न आग्रह गरे। उहाँले भने, “जिल्ला अस्पतालमै उपचार गर्न सकिने केसमा पनि बिरामीलाई निजी अस्पतालमा पठाउने प्रथा बन्द गर्नुपर्छ। यसले प्रादेशिक अस्पतालमा अनावश्यक भीड बढाएको छ।” उहाँले स्वास्थ्य मन्त्रालयका नेतृत्वलाई यसमा विशेष निगरानी बढाउन निर्देशन दिए।

स्वास्थ्य सूचक सुधार र जनचेतना प्रवर्द्धनमा जोड

मुख्यमन्त्री आचार्यले प्रदेशका पोषण र स्वास्थ्य सूचकमा सुधार देखिन थालेको उल्लेख गर्दै मातृ तथा बाल मृत्युदर घटाउनका लागि अभियानहरूलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए। “रोग लागेपछि होइन, लाग्न नदिनेतर्फ ध्यान दिनुपर्छ,” उहाँले जोड दिनुभयो। साथै उहाँले आयुर्वेद र प्राकृतिक उपचारलाई प्रोत्साहन गर्नुपर्नेमा पनि बल दिए।
उहाँले भने, “प्राकृतिक उपचारबाट रोगको स्थायी समाधान सम्भव छ। अब दीर्घकालीन समाधानका उपायमा जोड दिन जरुरी छ।”

स्वास्थ्य सेवामा उल्लेखनीय सुधार

कार्यक्रम स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। मुख्यमन्त्री आचार्य प्रमुख अतिथि र स्वास्थ्यमन्त्री खेमबहादुर सारु विशिष्ट अतिथि थिए। प्रदेश प्रमुख सचिव बाबुराम अधिकारीले सबै नागरिकको पहुँचमा आधारभूत र विशेष स्वास्थ्य सेवा पुर्‍याउनुपर्नेमा जोड दिए। प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले नतिजामुखी योजना निर्माण र कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए।

स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत मानबहादुर ओलीले प्रस्तुत प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। देउखुरीमा ५० शय्याको भालुवाङ अस्पताल सञ्चालनमा आएको, नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पतालमा मिर्गौला डायलासिस सेवा विस्तार, र कपिलवस्तु तथा अर्घाखाँचीमा सो सेवा अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ।

साथै चार जिल्लामा सामुदायिक स्वास्थ्य सूचना प्रणालीमार्फत ‘परिवार स्वास्थ्य विवरण’ कार्यक्रम सुरु गरिएको छ, जसले महिला, बालबालिका र परिवारको स्वास्थ्य अवस्थाको निरन्तर अनुगमन गर्ने लक्ष्य लिएको छ। प्रदेश लोक सेवा आयोगमार्फत पहिलो पटक विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको पदपूर्ति र पदस्थापन गरिएको र आठ जिल्लाका १३ स्थानीय तहमा ‘रोभिङ नर्स’ कार्यक्रम सञ्चालन गरी समुदायमै पुगेर जनस्वास्थ्य सेवा विस्तार गरिएको पनि समीक्षा प्रतिवेदनमा उल्लेख छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments