Sunday, December 7, 2025
spot_imgspot_img
Homeसमाजबर्दियामा हात्ती स्वास्थ्य शिविर, १४ हात्तीको उपचार गरिँदै

बर्दियामा हात्ती स्वास्थ्य शिविर, १४ हात्तीको उपचार गरिँदै

बर्दिया कात्तिक १९ – बर्दिया राष्ट्रिय निकुञ्जमा सञ्चालन भइरहेको हात्ती स्वास्थ्य शिविरमा १४ वटा घरपालुवा हात्तीको उपचार गरिँदैछ। अमेरिकी पशुचिकित्सक टोली, राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको संयुक्त आयोजनामा सुरु भएको शिविर मङ्गलबारदेखि सुरु भई बुधवार साँझसम्म सञ्चालन हुने भएको हो।

शिविरमा बर्दिया राष्ट्रिय निकुञ्जका १३ हात्ती र राष्ट्रिय प्रकृति संरक्षण कोषका १ हात्ती गरी कुल १४ हात्तीको उपचार गरिँदैछ। शिविरमा अमेरिकी पशुचिकित्सकहरूको संस्था केएसिफ (K-SAFE) का १० जना पशुचिकित्सक र प्राविधिकहरूको सहभागिता रहेको छ। साथै राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटनरी चिकित्सक र प्राविधिकहरू पनि उपचारमा खटिएका छन्।

नङ काट्ने, खोप र घाउ उपचार प्रमुख कार्य

शिविरमा हात्तीको नङ काट्ने, टिटानस र रेबिजविरुद्ध खोप लगाउने, पैताला र शरीर सफा गर्ने, घाउ–चोटपटकको उपचार गर्ने लगायतका कार्य भइरहेका छन्।  राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका भेटनरी डाक्टर किरण रिजालका अनुसार हात्तीको रगतको नमुना सङ्कलन गरी क्षयरोगलगायत विभिन्न रोगहरूको परीक्षण पनि गरिँदैछ।

उहाँले भन्नुभयो, “हात्तीको खुट्टा र पैताला बढी लोड पर्ने भएकाले त्यसको स्याहारमा विशेष ध्यान दिनुपर्छ। नङ बढ्दा हात्तीले बाँगो टेक्ने, नङमा माटो भरिने र घाउ हुने समस्या देखिन्छ।”

खुट्टा सम्बन्धी समस्या बढी

भेटनरी डाक्टर रिजालका अनुसार घरपालुवा हात्तीको करिब ४० प्रतिशत स्वास्थ्य समस्या खुट्टासँग सम्बन्धित हुन्छ।
“हात्ती स्वतन्त्र रूपमा हिँड्न नपाउने हुँदा नङ छिटो बढ्ने र माटो भरिने समस्या बढी देखिन्छ,” उहाँले बताउनुभयो।

शिविर दुई दिनसम्म सञ्चालन

शिविर दुई दिनसम्म सञ्चालन हुने बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत सरोजमणी पौडेलले जानकारी दिए।
उहाँले हात्ती जैविक विविधता संरक्षणका लागि अत्यन्त महत्वपूर्ण प्रजाति भएकाले तिनीहरूको स्वास्थ्य परीक्षण र स्याहार समय–समयमा गर्न जरुरी भएको बताए।  पौडेलले थपे, “हामीले हरेक ६ महिनामा हात्तीको नङ काट्ने गर्छौं। शिविरमा नङ काट्ने तरिका र उपचार प्रविधिबारे सिकाइ तथा अनुभव आदानप्रदान पनि गरिन्छ।”

विगत पाँच वर्षदेखि नियमित शिविर

बर्दिया राष्ट्रिय निकुञ्जमा हात्ती स्वास्थ्य शिविर विगत पाँच वर्षदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको हो।
त्यस्तै, चितवन राष्ट्रिय निकुञ्जमा यसअघि आठौँ पटक हात्ती स्वास्थ्य शिविर सञ्चालन भइसकेको छ।

शिविर सञ्चालनपछि हात्तीको खुट्टा र समग्र स्वास्थ्यमा सुधार आएको चिकित्सकहरूले बताएका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments