बाँके, खजुरा गाउँपालिका–२ (सि गाउँ) — आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी को घरदैलो अभियान तीव्र बनेको छ। खजुरा गाउँपालिका–२ अन्तर्गत सि गाउँमा आयोजित चुनावी घरदैलो कार्यक्रममा मतदाताहरू उत्साहित देखिएका छन्।
बाँके क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपक जि एम ले आफू स्थानीय तहदेखि केन्द्रसम्म पहुँच भएको उम्मेदवार भएको दाबी गर्दै विजयी भएपछि संसदमा क्षेत्रको विकास र समृद्धिका लागि सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आफ्नो क्षेत्रका समस्या, जनभावना र आवश्यकताबारे राम्रोसँग जानकार रहेको उल्लेख गर्दै मतदातालाई “तारा” चुनाव चिन्हमा मतदान गरी विजयी गराउन आग्रह गर्नुभयो।
उम्मेदवार जि एमले चुनावी माहोलमा देखिएको शक्ति प्रदर्शन र अत्यधिक खर्चप्रति संकेत गर्दै आफू आर्थिक रूपमा साधारण भए पनि इमान्दार र जनतासँग नजिक रहेको बताउनुभयो। “म मासु–भात र पेट्रोलमा खर्च गरेर मत किन्न सक्दिनँ। म इमान्दार छु, त्यसैले आर्थिक रूपमा कमजोर छु,” उहाँले भन्नुभयो।
उहाँले क्षेत्रका २४ वटै वडा र ८६ टोलबस्तीको अवस्था नजिकबाट बुझेको दाबी गर्दै आफू पजेरो चढ्ने नेता नभई स्कुटर चढेर जनताको घरदैलोमा पुग्ने प्रतिनिधि भएको उल्लेख गर्नुभयो। किसानका समस्या, सिजनमा मलको अभाव, महँगीको मार र सामान्य बिरामी हुँदा औषधि किन्न नसक्ने अवस्थासम्म आफूले भोगेको र बुझेको उहाँको भनाइ थियो।
यसैबीच, प्रचार प्रमुख राज कुमार बि क ले संघीय संसदको कार्यप्रणाली बुझेको, जनतामा भिजेको युवा नेताका रूपमा दिपक जि एमलाई प्रस्तुत गर्दै तारा चिन्हमा मतदान गरी विजयी गराउन अपिल गर्नुभयो।
बाँके–३ मा चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गएको छ भने घरदैलो अभियानसँगै राजनीतिक गतिविधि गाउँ–टोलसम्म विस्तार भइरहेका छन्।


