नेपालगन्ज फागुन १८ – आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बाँकेको कोहलपुर तथा आसपासका स्थानीय तहहरूमा नेपाल तरुण दलको नेतृत्वमा व्यापक कोण सभा तथा जनसम्पर्क कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का कार्यकर्ता तथा समर्थकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
उक्त र्यालीमा राप्ती सोनारी गाउँपालिकाको वडा नं. ९ ढकेरी चोकबाट कार्यक्रम सुरु गरिएको थियो । ढकेरीबाट सुरु भएको टोली शमसेरगञ्ज, कचनापुर हुँदै कुसुम पुगेको थियो । त्यसपछि बैजनपुर र बिनौना हुँदै फत्तेपुरमा पुगेर कोण सभा आयोजना गरिएको थियो । फत्तेपुरमा आयोजित सभासँगै उक्त क्षेत्रको कार्यक्रम सम्पन्न भएको थियो ।
नरैनापुर गाउँपालिका
साथै नरैनापुर गाउँपालिकाको वडा नं. ५ मटहियाबाट सुरु भएको कार्यक्रम गंगापुर, सोनबर्सा र जमुनी हुँदै वडा नं. ५, ४, ३ र २ का विभिन्न स्थानमा पुगेको थियो । उक्त र्याली वडा नं. १ सुइयामा कोण सभा आयोजना गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो । विभिन्न स्थानमा आयोजित सभामा स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको सक्रिय सहभागिता देखिएको थियो ।
कोहलपुर नगरपालिका
कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित नेपाली काङ्ग्रेसको पार्टी कार्यालयबाट सुरु गरिएको कार्यक्रम नगरका १५ वटै वडामा पुगी अन्तिममा पार्टी कार्यालय (गोलपार्क) मा समापन सभा आयोजना गरिएको थियो ।
समापन कार्यक्रममा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायण प्रसाद गौडेलले सम्बोधन गर्दै “आगामी प्रतिनिधि सभा निर्वाचन परिवर्तनको महत्वपूर्ण अवसर बताए । नेपाली काङ्ग्रेसका कार्यकर्ता र समर्थकहरूको एकता र सक्रियताले जनताको विश्वास जित्नेछौं । विकास, सुशासन र युवाको सशक्तिकरण हाम्रो प्राथमिकता भएको उनको भनाई रहेको थियो ।
उनले आसन्न निर्वाचनमा जनताको व्यापक समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्दै क्षेत्रको समग्र विकासका लागि प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।
उक्त कार्यक्रम शान्तिपूर्ण, व्यवस्थित तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको आयोजकले जानकारी दिएको छ ।


