बाँके: बैजनाथ गाउँपालिका–५ गुरुवागाउँमा अवस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले नयाँ प्रधानाध्यापक नियुक्त गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिल बहादुर नेपालीका अनुसार स्थायी माध्यमिक तह गणित विषयका शिक्षक रमेश घिमिरेलाई विद्यालयको नयाँ प्रधानाध्यापकमा स्थायी रूपमा नियुक्त गरिएको हो।
यसअघि विद्यालयको नेतृत्व सम्हाल्दै आएका प्रधानाध्यापक नर बहादुर विश्वकर्माले पदबाट राजीनामा दिएका थिए। समितिले सो राजीनामा स्वीकृत गर्दै उहाँलाई विद्यालयका तर्फबाट कदरपत्र प्रदान गरेको जनाएको छ।
प्रधानाध्यापकमा नियुक्त घिमिरेले विद्यालयको शैक्षिक सुधार, अनुशासन अभिवृद्धि र विद्यार्थीहरूको सिकाइ गुणस्तर वृद्धि गर्ने लक्ष्यका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले विद्यालयलाई आधुनिक प्रविधि र दक्ष जनशक्तिको प्रयोगद्वारा उदाहरणीय शैक्षिक संस्था बनाउने योजना अघि सार्नुभएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नेपालीले पनि नयाँ नेतृत्वबाट विद्यालयको प्रगति र समुदायसँगको सहकार्य अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

स्थानीय अभिभावकहरू र शिक्षकहरूले पनि नयाँ प्रधानाध्यापकलाई बधाई दिँदै विद्यालयको निरन्तर प्रगतिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।


