कोहलपुर कात्तिक २२ — बाँके राष्ट्रिय निकुञ्जसँग गाँसिएको कोहलपुर नगरपालिका पछिल्ला दिनहरूमा वन्यजन्तुको आक्रमणका कारण आतंकित बनेको छ। बाघ र चितुवाको गतिविधि बढ्दै जाँदा स्थानीय बासिन्दा त्रासमा बाँच्न बाध्य भएका छन्।
शुक्रबार राति कोहलपुर नगरपालिका–१२ सुन्दरबस्तीका स्थानीय रबि टमटाको गोठमा पसेर चितुवाले तीनवटा बाख्रा मारेको छ। खोरमै छिरेर बाख्रा खाएको चितुवाको गतिविधिपछि बस्तीमा आतंक मच्चिएको स्थानीयले बताएका छन्।
रबि टमटाले भने, “केही दिनदेखि बस्ती वरिपरि चितुवा देखिन्छ, रातमा उस्को स्वर पनि सुनिन्छ। निकुञ्ज नजिक भएकाले हामी साँझपछि घर बाहिर निस्कन डराउँछौँ।”
यसअघि केही दिनअघिमात्रै ढकेरीमा घाँस काट्न गएका एक व्यक्तिलाई बाघले आक्रमण गर्दा ज्यान गएको थियो। त्यसपछि अझै त्रास बढेको स्थानीयको भनाइ छ।
सुन्दरबस्तीका अर्का बासिन्दा मनविर सुनारका अनुसार हालसालै कोहलपुरको निबुवादेखि खड्कवारसम्मका कम्तीमा चार ठाउँमा चितुवाले घरपालुवा जनावर आक्रमण गरेको छ। उनले सम्बन्धित निकायले तत्काल नियन्त्रणका उपाय गर्न माग गरेका छन्।
पछिल्लो समयमा बाँके राष्ट्रिय निकुञ्ज नजिकका बस्तीहरूमा बाघ र चितुवाको संख्या र गतिविधि दुवै बढ्दै गएको स्थनिकले बताएका छन्। वन्यजन्तु संरक्षणका नाममा मानव सुरक्षाको चुनौती बढ्दै गएको उनीहरूको गुनासो छ।


