नेपालगन्ज कात्तिक २७- सेवाग्राहीलाई छिटो, सहज र व्यवस्थित सेवा प्रदान गर्ने उद्देश्यले इलाका प्रशासन कार्यालय कोहलपुरले डिजिटल टोकन प्रणाली लागू गरेको छ। कार्यालयले एक औपचारिक सूचना जारी गर्दै अबदेखि सम्पूर्ण सेवा क्रमबद्ध रूपमा टोकन प्रणालीमार्फत प्रवाह गरिने जनाएको छ।
कार्यालय प्रमुख अन्तिम सिंजालीका अनुसार, नागरिकता तथा प्रतिलिपि नागरिकता सेवाका लागि अत्यधिक भीड हुने भएकाले सेवा प्रवाहलाई सरल र व्यवस्थित बनाउन टोकन प्रणाली लागू गरिएको हो। “सेवाग्राहीले लामो समय पर्खिनु नपरोस् भन्ने उद्देश्यले टोकन प्रणाली सुरु गरिएको हो,” प्रमुख सिंजालीले बताउनुभयो।
कार्यालयले जारी गरेको सूचनाअनुसार, टोकनका आधारमा सेवाग्राहीहरूले आफ्ना पालोअनुसार सेवा पाउनेछन्। टोकन लिन बिहान १० बजेदेखि नाम टिपाउन सकिने व्यवस्था गरिएको छ। यस प्रणालीले सेवाग्राहीलाई अनावश्यक भीड, लाइन र असहजता कम गर्ने अपेक्षा गरिएको छ।
यसअघि जिल्ला प्रशासन कार्यालय बाँकेले पनि विद्युतीय टोकन प्रणाली लागू गरी नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र शाखामा सेवा सहज बनाएको थियो। सोही सफल अभ्यासका आधारमा इलाका प्रशासन कार्यालय कोहलपुरले पनि टोकन प्रणाली लागू गरेको हो।
कार्यालयले आगामी दिनमा सेवा प्रवाहका अन्य शाखाहरूमा पनि आवश्यकताअनुसार डिजिटल प्रणाली विस्तार गर्ने तयारी गरेको जनाएको छ।


