Tuesday, November 18, 2025
spot_imgspot_img
Homeसमाजबर्दियाको बाँसगढीमा चार करोडको लगानीमा प्राङ्गारिक मल कारखाना निर्माण तीव्र

बर्दियाको बाँसगढीमा चार करोडको लगानीमा प्राङ्गारिक मल कारखाना निर्माण तीव्र

बर्दिया कात्तिक २७-  रासायनिक मलको अभावका बीच बर्दियाको बाँसगढी नगरपालिकाले आफ्नै स्रोतमा प्राङ्गारिक मल उत्पादन गर्ने तयारी गरेको छ। बाँसगढी नगरपालिका–४, मदाह नजिक रहेको गौशालाको छेउमा चार करोड रुपियाँको लगानीमा प्राङ्गारिक मल कारखाना निर्माण तीव्र गतिमा भइरहेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाको तीन करोड र प्रदेश सरकारको एक करोड रुपैयाँको लागतमा निर्माण भइरहेको उक्त कारखाना २०८१ फागुनदेखि निर्माणाधीन छ र आगामी चैत महिनासम्म सम्पन्न हुने लक्ष्य राखिएको छ। आगामी वैशाखदेखि उत्पादन सुरु गरी धान र मकै सिजनका लागि कृषकलाई मल वितरण गर्ने तयारी रहेको नगर प्रमुख खडकबहादुर खड्काले बताउनुभयो।

नगरपालिकाभित्रका कृषकलाई सहुलियत दरमा मल उपलब्ध गराउने र उत्पादन बढी भएमा छिमेकी नगरपालिकामा बिक्री गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो। कारखानाका लागि आवश्यक गोबर गौशालाबाट प्राप्त हुने र आवश्यकता अनुसार अन्य फर्मबाट खरिद गरिनेछ। साथै सामुदायिक वनबाट झारपात संकलन गरी कच्चा पदार्थका रूपमा प्रयोग गरिनेछ।

नगर प्रमुख खड्काका अनुसार कारखाना सञ्चालन भएपछि स्थानीय युवाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाउनेछन्। घरघरमा खेर गइरहेका कुहिने फोहोर र सामुदायिक वनका घाँस–झारपात संकलन गरेर कारखानामा बिक्री गर्ने अवसरले नगरवासी स्वरोजगार बन्न सक्नेछन्।

कारखाना सञ्चालनका लागि नगरपालिका, स्थानीय सहकारी संस्था र नगरवासीहरू संयुक्त रूपमा सहभागिता जनाउने योजना बनाइएको छ। “सञ्चालनका लागि कार्यविधि निर्माणको अन्तिम तयारी भइरहेको छ,” नगर प्रमुख खड्काले बताउनुभयो, “सुरुवाती चरणमा दैनिक पाँच हजार मेट्रिक टन प्राङ्गारिक मल उत्पादन गर्ने लक्ष्य राखिएको छ।”

नगरवासी भगवती थारूका अनुसार, “नगरपालिकाले लामो समयपछि प्रभावकारी काम थालेको छ। अब बाँसगढी नगर जैविक खेतीतर्फ अघि बढ्ने आशा जगाएको छ।”

कारखाना सञ्चालनमा आएपछि बाँसगढी नगरपालिकाभित्र मलको अभाव समाप्त हुने र स्थानीय स्तरमा रोजगारीका नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments