Tuesday, November 18, 2025
spot_imgspot_img
Homeस्थानीयकोहलपुर सिटी एकेडेमीमा तीनदिने वार्षिक खेलकुद महोत्सव सुरु

कोहलपुर सिटी एकेडेमीमा तीनदिने वार्षिक खेलकुद महोत्सव सुरु

कोहलपुर, कार्तिक २८ – विद्यार्थीहरूको शैक्षिक तथा समग्र व्यक्तित्व विकासलाई अझ प्रभावकारी बनाउन कोहलपुर सिटी एकेडेमी, कोहलपुर बाँकेमा तीनदिने वार्षिक खेलकुद महोत्सव भव्य रूपमा सुरु गरिएको छ। खेलकुदमार्फत विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता र आत्मविश्वास विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताको उद्घाटन कोहलपुर नगरपालिकाका नगर शिक्षा शाखाका प्रमुख रविलाल मिजारले गरेका हुन्।

उद्घाटन समारोहमा बोल्दै मिजारले खेलकुदले विद्यार्थीलाई परिश्रम, अनुशासन, हार–जीत स्वीकार्ने क्षमता तथा भावनात्मक परिपक्वता प्रदान गर्ने उल्लेख गर्दै भने,
“खेलकुद केवल मनोरञ्जनका लागि होइन, यो जीवनको अनुशासन र व्यक्तित्व निर्माणको माध्यम हो। यसले विद्यार्थीलाई सक्षम, जिम्मेवार र आत्मनिर्भर बनाउँछ।”

कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल प्रशान्त रिजाल, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यार्थीहरूले प्रस्तुत गरेको आकर्षक मार्चपास र सांस्कृतिक कार्यक्रमले वातावरणलाई झनै उत्साहपूर्ण बनाएको थियो।

तीन दिन लामो यस खेलकुद महोत्सवमा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीहरूले १०० मिटर, २०० मिटर दौड, शटफुट, ज्याब्लिन थ्रो, लङ्ग जम्प, ट्रिपल जम्प, हाइ जम्प, रिले दौड लगायतका विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन्। साथै, छात्र–छात्रा दुवै समूहका लागि भलिबल, कबड्डी जस्ता टोलीगत खेलहरू पनि समावेश गरिएको छ।

कक्षा नर्सरीदेखि ३ सम्मका साना बालबालिकाका लागि कुर्ची दौड, चकलेट दौड लगायत रमाइला खेलहरू राखिएको विद्यालयले जनाएको छ। प्रिन्सिपल प्रशान्त रिजालका अनुसार खेलकुदले विद्यार्थीमा नेतृत्व, सहकार्य र आत्मअनुशासनजस्ता जीवनोपयोगी सीप विकास गर्छ। उनले आगामी वर्षमा प्रतियोगितालाई अझ व्यवस्थित तथा अन्तर–विद्यालयीय स्तरमा विस्तार गर्ने योजना रहेको बताए।

उद्घाटन दिवसमै १०० मिटर, २०० मिटर दौड, सटफुट लगायतका विभिन्न खेलहरू सम्पन्न भए। प्रतियोगितालाई सफल बनाउन फिल्ड मार्सल रमेश शाही ठकुरी, प्रशिक्षक लोकेन्द्रबहादुर चन्द, सुशील कुमार खत्री, रोहित कुमार खत्री तथा खेल संयोजक आभाष विक्रम क्षेत्रीले निरन्तर सहजीकरण गरिरहेका छन्।

तीन दिनसम्म चल्ने यो खेलकुद महोत्सवले विद्यालयमा खेलकुद संस्कृतिको विस्तार र विद्यार्थीहरूको शारीरिक–मानसिक विकासमा महत्वपूर्ण ऊर्जा भर्ने विश्वास लिइएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments