नेपालगञ्ज कात्तिक २८ – नेपालगञ्ज उप–महानगरपालिकाले यस वर्ष कृषकलाई उत्पादन वृद्धि र बीउ सुधारलाई लक्षित गर्दै ५० प्रतिशत अनुदानमा ११ हजार ७९० किलोग्राम गहुँको उन्नत बीउ वितरण गरेको छ । कृषि शाखामार्फत सञ्चालित यस कार्यक्रमअन्तर्गत विजय र बाणगंगा जातका उन्नत बीउ किसानका हातमा पुगेका छन् ।
बीउ वितरण अघि ७ दिने सार्वजनिक सूचना जारी गरी माग सङ्कलन गरिने प्रक्रिया अपनाइएको थियो। सो अवधिभित्र निवेदन दिएका किसानलाई नै अनुदानमा बीउ वितरण गरिएको कृषि शाखाका नायब प्राविधिक सहायक भुवनप्रसाद पन्तले जानकारी दिए ।
कृषि शाखा प्रमुख अम्बिका रिजालका अनुसार व्यक्तिगत किसान, सहकारी र वडा कार्यालयमार्फत गरी १ सय ७७ जना लाभग्राही किसानलाई बीउ वितरण गरिएको हो। रिजालका अनुसार उन्नत जातका बीउ प्रयोगले उत्पादन वृद्धि मात्र होइन, कृषकको आयआर्जन र खानेपानी सुरक्षामा समेत सकारात्मक प्रभाव पर्नेछ ।


