नेपालगन्ज मंसिर १७- — मुक्त कमैया परिवारहरूको आय–आर्जन बढाउने उद्देश्यले ‘बाख्रापालनमार्फत बँधुवा मजदुर (कमैया) का लागि आर्थिक अवसरहरू बढाउँदै’ नामक परियोजनाअन्तर्गत बाख्रापालन तालिम आजदेखि बर्दियाको बढैयाताल गाउँपालिका–९, जनतानगरमा सुरु भएको छ ।

रोटरी क्लब अफ महाराजगञ्ज, काठमाडौंको संयोजनमा चलाइएको यो कार्यक्रम नेपाल–भूटानको रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ तथा कोरियाका विभिन्न रोटरी क्लबहरूको सहकार्यमा सञ्चालन भइरहेको छ ।
उक्त कार्यक्रममा स्थानीय महिलाद्वारा स्वागत गरेपछि राष्ट्रिय गान र दीप प्रज्वलनसहित कार्यक्रम सुरु गरिएको थियो ।
रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष निवृत्त गंगाराम चौलागाईंले स्वागत मन्तव्य दिँदै तालिमले मुक्त कमैया परिवारको आत्मनिर्भर जीवन निर्माणमा सहयोग पुग्ने बताए ।
रोटरी क्लब अफ महाराजगञ्जका चार्टर अध्यक्ष तथा सेवा समिति प्रमुख डा. जयबहादुर टण्डनले परियोजनाको लक्ष्य, हालसम्मको प्रगति र आगामी योजनाबारे जानकारी गराउँदै बाख्रापालनले परिवारको नियमित आयको स्रोत बनाउन मद्दत गर्ने उल्लेख गरे ।
तालिममा सहभागी प्रतिनिधिहरूले बाख्रापालन सिक्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै यसले आफ्नो परिवारको आर्थिक स्थिति सुधारिने विश्वास व्यक्त गरेका छन् ।
उक्त कार्यक्रममा बोल्दै पार्क ही डोङ, UHGHF का देश निर्देशकले कार्यक्रमले सामुदायिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गरेका छन् ।
बढैयाताल RM का अध्यक्ष हिमालय त्रिपाठीले स्थानीय सरकार तर्फबाट सहयोग निरन्तर रहने बताएका छन् ।
लुम्बिनी प्रदेशका सभा सदस्य तथा प्रमुख अतिथि भुवनेश्वर चौधरीले मुक्त कमैयाका परिवारलाई आत्मनिर्भर बनाउन रोटरीको पहलकदमी निकै प्रभावकारी भएको बताएका थिए ।
यसैबिच रोटरी क्लब अफ महाराजगञ्जकी अध्यक्ष रोटेरियन गीता उप्रेतीले सबै अतिथि, सहभागी र सहयोगी संस्थाप्रति धन्यवाद ज्ञापन गरिन् ।
कोरियाका चुङजु, साई–चुङजु, चुङजु–नामहाङगाङ, जंगवेन लगायतका क्लबहरूको सहकार्यमा सञ्चालन भइरहेको तालिम १८ डिसेम्बरसम्म चल्नेछ । तालिमपछि सहभागीहरूले व्यावहारिक रूपमा बाख्रापालन सुरु गर्न आवश्यक सहयोग पनि पाउने जनाइएको छ ।


