नेपालगन्ज मंसिर १९- कोहलपुरमा आयोजना हुन लागेको महोत्सवलाई व्यवस्थित, आकर्षक र प्रभावकारी बनाउन कोहलपुर उद्योग वाणिज्य संघले बुधबार स्थानीय सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरेको छ । उक्त अन्तरक्रियाका कार्यक्रममा संघका अध्यक्ष प्रदीप भट्टराईले महोत्सवलाई कोहलपुरको आर्थिक तथा सामाजिक गतिशीलता बढाउने प्रमुख अवसरका रूपमा रहेको उल्लेख गर्दै सञ्चार क्षेत्रसँगको समन्वय अनिवार्य भएको बताएका छन् ।
“महोत्सवलाई व्यवस्थित रूपमा सञ्चालन गर्दै यसलाई यस क्षेत्रको पहिचान र आर्थिक गतिविधि विस्तारसँग जोड्ने लक्ष्य छ,” अध्यक्ष भट्टराईले भने, “सञ्चारकर्मीहरूको सहकार्य र सुझावले कार्यक्रमलाई अझ प्रभावकारी बनाउन मद्दत पुर्याउनेछ” ।
संघका अनुसार यस वर्षको महोत्सवमा स्थानीय उत्पादन, कृषि तथा उद्यमशीलता, पर्यटन प्रवर्द्धन, व्यापार विस्तार, सांस्कृतिक विविधता र पारिवारिक मनोरञ्जनलाई विशेष प्राथमिकता दिइनेछ । अन्तरक्रियामा सहभागी सञ्चारकर्मीहरूले महोत्सवलाई बढी जनमुखी, सुरक्षित र व्यवस्थित बनाउन सुझाव दिएका छन् । उनीहरूले महोत्सवका कार्यक्रम, भीड व्यवस्थापन, मिडिया कभरेज र प्रचार–प्रसारमा स्पष्ट तथा समयमै दिएको जानकारीले प्रभावकारिता बढ्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा संघका पदाधिकारीहरूले महोत्सव सम्बन्धी प्रारम्भिक तयारी, सम्भावित आकर्षण र व्यवस्थापन योजनाबारे जानकारी गराएका थिए । संघले छिट्टै महोत्सवको विस्तृत कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।


