काठमाडौँ, मङ्सिर १९ – नेपाली संगीतका अमर गायक स्वर सम्राट नारायण गोपाल गुरुवाचार्यको ३५औँ स्मृति दिवस आज विविध कार्यक्रमसहित मनाइँदैछ।
१९९६ साल असोज १८ गते काठमाडौँको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मङ्सिर १९ गते निधन भएको थियो। विशिष्ट स्वर, अद्वितीय अभिव्यक्ति र भावपूर्ण गायनका कारण उनी ‘स्वर सम्राट’ उपाधिले सम्मानित भएका हुन्।
नारायण गोपालले २०१८ सालमा रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गर्दै औपचारिक रूपमा गायन यात्राको सुरुआत गरेका थिए। उनले आफ्नो जीवनकालमा नेपाली भाषाका मात्र एक सय ३५ भन्दा बढी गीत रेकर्ड गरेका छन्। आधुनिक गीतसंगीतमा योगदान पुर्याउँदै उनले डेढ दर्जनभन्दा बढी नेपाली चलचित्रका गीतमा पनि आवाज दिएका थिए। त्यस्तै, उनले नेपाल भाषाका गीतसमेत गाएका छन्।
उनले २०१३ सालमा दुर्गालाल श्रेष्ठको नाटकमा दृष्टिविहीन पात्रको भूमिकाबाट रंगमञ्चमा प्रवेश गरेका थिए। तर २०१८ सालपछि भने उनी पूर्ण रूपमा गायनमै सक्रिय बने।
स्वर सम्राटले संगीत क्षेत्रमा उल्लेख्य योगदानका लागि २०२३ सालमा रेडियो नेपालद्वारा सर्वोत्तम संगीतकार, २०२४ सालमा सर्वोत्कृष्ट गायक, २०३३ सालमा गोरखा दक्षिण बाहु, २०४० सालमा इन्द्रराज्य लक्ष्मी पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार र २०४५ सालमा जगदम्बा श्री पुरस्कार प्राप्त गरेका थिए।
उनका ‘गल्ती हजार हुन्छन्’, ‘यहाँ होस हराएको बेला’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’, ‘स्वर्गकी रानी’, ‘आँखाको भाका आँखैले’, ‘भो भो मलाई नछेक’, ‘बिछोडको पीडा’, ‘ए कान्छा ठट्टैमा यो वैंश जान लाग्यो’ लगायतका गीत आज पनि समान रूपमा लोकप्रिय र अमर छन्।
नारायण गोपालको सम्झनामा उनको महाराजगञ्जस्थित निवासमा स्थापना गरिएको नारायणगोपाल संगीत कोषले आज विशेष कार्यक्रमको आयोजना गर्दै उनको स्मृति मनाइरहेको छ।


