Friday, December 12, 2025
spot_imgspot_img
Homeराष्ट्रियजेनजी आन्दोलनलाई समर्थन तर हिंसा अस्वीकार्य : नेपाल”

जेनजी आन्दोलनलाई समर्थन तर हिंसा अस्वीकार्य : नेपाल”

नेपालगन्ज । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जेनजी पुस्ताको भदौ २३ गतेको शान्तिपूर्ण आन्दोलनलाई समर्थन भएको तर भोलिपल्ट भएको आगजनी र लुटपाट जघन्य र अस्वीकार्य रहेको बताएका छन्।
पार्टीले आयोजना गरेको बाँके जिल्लास्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता नेपालले जेनजीको नाममा भदौ २४ गते गरिएको विध्वंसकारी गतिविधिमा संलग्नलाई कुनै पनि हालतमा छुट नदिनु पर्ने धारणा राखे।

उनले पार्टीलाई पुनःजागृत बनाउन जनताको घर–घरमा पुगेर संवाद गरिरहेको उल्लेख गर्दै बदलिँदो राजनीतिक परिस्थितिमा सही नीति अवलम्बन गर्दै नयाँ विश्वास निर्माणका लागि पार्टी अघि बढिरहेको बताए। नेपालका अनुसार हालसम्म १६ कम्युनिष्ट दल एकीकृत भएर बनेको ‘नेपाली कम्युनिष्ट पार्टी’ प्रति जनताको आकर्षण बढ्दै गएको छ।

नेपालले पार्टी सबै वर्ग, लिंग, समुदाय र नयाँ पुस्ताको प्रतिनिधि रहेको दाबी गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा जनताको बहुमत लिएर नयाँ नेपाल निर्माणको अभियानलाई तीव्र गतिमा अघि बढाउने उद्घोष गरे।

सभामा भावुक बन्दै उनले द्वन्द्वकाल याद गरेका थिए। सुरक्षा निकायको निगरानी छल्दै नेपालगन्ज हुँदै भारतको लखनउ पुगेर प्रचण्डलाई भेटेको स्मरण गर्दै उनले त्यही भेटपछि गिरिजा, प्रचण्ड र आफूले मिलेर नेपाली राजनीतिको दिशा परिवर्तन हुनेगरी आन्दोलनको संयोजन गरेको बताए।

कार्यक्रम नरेन्द्र पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो। सभामा केन्द्रीय नेता शक्तिबहादुर बस्नेत, अब्दुल हुसैन खान, अञ्जना चौधरीलगायतले एकताको अभियानलाई घर–घरमा पुर्‍याउनुपर्नेमा जोड दिएका थिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments