नेपालगन्ज मंसिर २८- आगामी पुष ९ गतेदेखि सञ्चालन हुने कोहलपुर महोत्सव २०८२ लाई सफल बनाउने उद्देश्यले पत्रकार तथा सञ्चारकर्मीहरूसँग अन्तरक्रियात्मक छलफल कार्यक्रम गरिएको छ ।
“दिगो विकासको उत्सव” भन्ने नारासहित आयोजना हुन लागेको कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव २०८२ लाई व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा सञ्चालन गर्न पत्रकारहरूसँग अन्तरक्रिया गरिएको हो । कोहलपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पौष ९ गतेदेखि १८ गतेसम्म कोहलपुर नगरपालिका–११ स्थित खुल्ला मैदानमा सञ्चालन हुने महोत्सवको प्रवर्द्धनमा सञ्चारकर्मीहरूको भूमिकाबारे कार्यक्रममा छलफल गरिएको थियो ।
कार्यक्रमको उद्देश्य सञ्चारकर्मीहरूले महोत्सवप्रति अपनत्व महसुस गर्न सक्ने वातावरण निर्माण गर्नुका साथै आपसी सहकार्य, समन्वय र समझदारीलाई थप सुदृढ बनाउनु रहेको आयोजकले जनाएको छ । अन्तरक्रियामा सहभागी पत्रकारहरूले महोत्सवसम्बन्धी सूचना तथा समाचार सम्प्रेषणका लागि सहज वातावरण मिलाउनुपर्ने, आयोजक र सञ्चारकर्मीबीच पारदर्शी सहकार्य आवश्यक रहेको तथा प्रचार–प्रसारमा सञ्चारकर्मीले गरेको योगदानको उचित मूल्याङ्कन हुनुपर्ने सुझाव दिएका थिए ।
त्यसैगरी, सबै सञ्चारमाध्यमलाई समान व्यवहार गरिनुपर्ने, कसैलाई काखा कसैलाई पाखा गर्ने प्रवृत्ति नहुनुपर्ने तथा महिला पत्रकारहरूलाई विशेष प्राथमिकतामा राखिनुपर्ने विषयमा जोड दिइएको थियो । महिला पत्रकारहरूले सुरक्षित, सम्मानजनक र समान अवसर सुनिश्चित गर्न आग्रह गरेका थिए ।
पत्रकारहरूले उठाएका सुझाव र समस्याहरूलाई गम्भीरतापूर्वक ग्रहण गर्दै उचित व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गर्दै कोहलपुर उद्योग वाणिज्य सङ्घका प्रेस सल्लाहकार निर्मल आचार्यले महोत्सवको सफलताका लागि सञ्चारकर्मीहरूसँग निरन्तर सहकार्य र समन्वय गरिने स्पष्ट पारे ।
आयोजकका अनुसार पत्रकारहरूसँगको यस्ता अन्तरक्रियाले महोत्सवको प्रचार–प्रसारलाई प्रभावकारी बनाउनुका साथै महोत्सवलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।


