बाँके — बैजनाथ गाउँपालिका–१ चिसापानीमा प्रथम बैजनाथ कृषि तथा व्यापार पर्यटन प्रवर्द्धन महोत्सव–२०८२ आगामी शुक्रबार दिउँसो २:०० बजे बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले उद्घाटन गर्ने छन्। महोत्सवको सम्पूर्ण तयारी सकिएको संयोजक नरेश भामले जानकारी दिए।
जागरण युवा क्लबको मुख्य आयोजनामा पहिलोपटक सञ्चालन हुन लागेको महोत्सवमा १ सय २० भन्दा बढी व्यापारिक स्टल, कृषि तथा प्रविधि प्रदर्शनी, थारु गाउँ, बाल उद्यान, र राष्ट्रिय–स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहने छन् । आर्थिक समिति संयोजक टोप बहादुर मल्लका अनुसार सबै तयारी अन्तिम चरणमा पुगेको छ।
महोत्सवले “हाम्रो संस्कृति हाम्रो सान, सिर्जनाको सम्मान, नव–प्रतिभाको पहिचान” भन्ने मूल नारालाई अगाडि बढाउँदै स्थानीय कला–संस्कृतिको जगेर्नामा विशेष ध्यान दिनेछ। देउडा गीत–नृत्य, थारु सांस्कृतिक झाँकी, स्थानीय पहिरन तथा विभिन्न सांस्कृतिक प्रस्तुति सहित शुक्रबार देखि बैजनाथ–१ चिल्ड्रेन पार्क खुल्ला मैदानमा प्रदर्शन गरिनेछ।
आयोजकले बैजनाथका सम्पूर्ण राजनीतिक दल, संघ–संस्था, उद्योगी–व्यापारी, शिक्षक, विद्यार्थी, युवा तथा आम नागरिकलाई महोत्सव सफल बनाउन सहयोग र सहभागिताको अनुरोध गरेको छ।
महोत्सव अवधिभर बाँके, बर्दिया, सुर्खेत लगायतका जिल्लाबाट करिब ५० हजार दर्शक भित्र्याउने अपेक्षा गरिएको छ।
महोत्सवबाट संकलित आम्दानी महोत्सव स्थल परिसरमा मन्दिर निर्माण, चिल्ड्रेन पार्क थप व्यवस्थित, र चिसापानी बजार क्षेत्रमा सडक बत्ती जडान गर्ने योजनामा खर्च गरिने आयोजकले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।
स्थानीय उत्पादन, कृषि–व्यापार र पर्यटन प्रवर्द्धनलाई लक्षित महोत्सवले चिसापानी क्षेत्रको आर्थिक तथा सांस्कृतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।



