बाँके — बैजनाथ गाउँपालिका–१, चिसापानीमा जारी प्रथम बैजनाथ कृषि तथा पर्यटन प्रवर्द्धन महोत्सव–२०८२ को चौथो दिन चर्चित गायिका रचना रिमालले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेकी छन्। रिमालको प्रस्तुति हेर्न मेला स्थलमा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो।
जागरण युवा क्लब बैजनाथ–१, चिसापानीको आयोजनामा तथा बैजनाथ गाउँपालिकाको संरक्षणमा मंसिर २६ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा दैनिक रूपमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति भइरहेको छ। यसले मेलामा आउने दर्शकलाई निरन्तर मनोरञ्जन दिइरहेको आयोजकले बताएका छन्।
मेला व्यवस्थापन मूल आयोजक समिति संयोजक नरेश भामका अनुसार महोत्सवका मुख्य आकर्षणहरूमा बाल उद्यान, होटल तथा रेस्टुरेन्ट, भूत बंगला, जाडोबाट बच्न न्यानो कपडा तथा विभिन्न व्यापारिक स्टलहरू रहेका छन्।
महोत्सवको मुख्य उद्देश्य स्थानीय कला–संस्कृति संरक्षण र प्रवर्द्धन रहेको छ। यसअन्तर्गत दैनिक रूपमा स्थानीय कलाकारहरूद्वारा लाइभ लोकदोहोरी, नृत्य तथा गायन कार्यक्रम प्रस्तुत भइरहेका छन्। आर्थिक व्यवस्थापन समिति संयोजक टोप बहादुर मल्लका अनुसार महोत्सवबाट संकलित आम्दानीबाट चिल्ड्रेन पार्क र शिव मन्दिर निर्माण गर्ने योजना रहेको छ। उक्त जानकारी युवा स्वयंसेवक संयोजक डिल्ली बुढाले दिएका हुन्।
आयोजकका अनुसार पुस १ गते चर्चित गायिका एलिना चौहानको विशेष प्रस्तुति रहनेछ, जसले मेलाको रौनक अझ बढाउने अपेक्षा गरिएको छ।
यसैबीच, सामाजिक अभियान्ता तथा हाम्रो पार्टी नेपालका सभापति खगेन्द्र सुनारले मन्दिर निर्माणका लागि रु १० हजार नगद सहयोग आयोजक समितिलाई हस्तान्तरण गरेका छन्। साथै, मन्दिर शिलान्यासका अवसरमा रु ५० हजार मूल्य बराबरको शिव मूर्ति र मन्दिरको गजुर निर्माण गरिदिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। उक्त जानकारी मिडिया संयोजक कुशल दलामीले दिएका छन्।
स्थानीय कृषि, पर्यटन, व्यापार तथा संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवले बैजनाथ क्षेत्रको पहिचानलाई थप मजबुत बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।


