Wednesday, December 17, 2025
spot_imgspot_img
Homeस्थानीयजेन्जी आन्दोलनपछि महिला नेतृत्वको सोचमा आएको परिवर्तनबारे नेपालगन्जमा बहस

जेन्जी आन्दोलनपछि महिला नेतृत्वको सोचमा आएको परिवर्तनबारे नेपालगन्जमा बहस

नेपालगन्ज पुस २- पछिल्लो समय चर्चामा रहेको ‘जेन्जी आन्दोलन’ ले महिला जनप्रतिनिधिहरूको सोच, कार्यशैली र निर्णय प्रक्रियामा पारेको प्रभावबारे नेपालगन्जमा गहन बहस गरिएको छ । सञ्चारिका समूहको आयोजनामा पुस २ गते नेपालगन्जस्थित सिद्धार्थ कटेजमा आयोजित प्यानल डिसकसन कार्यक्रममा महिला नेतृत्व, राजनीतिक विश्लेषक तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

“जेन्जी आन्दोलनपछि महिला जनप्रतिनिधिहरूको मनोविज्ञान” विषयमा केन्द्रित छलफलमा वक्ताहरूले युवा पुस्ताको बढ्दो सचेतना र सामाजिक सञ्जालमार्फत उठ्ने आवाजले महिला नेतृत्वलाई अझ उत्तरदायी, पारदर्शी र संवेदनशील बनाएको धारणा व्यक्त गरे ।

कार्यक्रममा कोहलपुर नगरपालिकाकी उप–प्रमुख सङ्गीता सुवेदीले जेन्जी आन्दोलनले जनप्रतिनिधिहरूलाई जनतासँग प्रत्यक्ष संवाद गर्न बाध्य बनाएको बताइन् । उनका अनुसार अहिलेका युवाले तत्काल जवाफ र स्पष्टता खोज्ने भएकाले नेतृत्वको सोच र व्यवहारमा परिवर्तन आउनु स्वाभाविक भएको छ।

कोहलपुर नगरपालिका–११ की वडा अध्यक्ष कल्पना शर्माले महिला जनप्रतिनिधिहरूले आलोचनालाई सकारात्मक रूपमा ग्रहण गर्न सिकिरहेको उल्लेख गर्दै जेन्जी आन्दोलनले नेतृत्वमा आत्ममूल्यांकनको संस्कार विकास गरेको बताइन् ।
त्यस्तै पूर्व स्वास्थ्य राज्यमन्त्री हसिना खानले जेन्जी आन्दोलनले महिला नेतृहरूलाई मानसिक रूपमा थप सशक्त बनाएको भन्दै बदलिँदो सामाजिक परिवेशअनुसार नेतृत्वले आफ्ना कार्यशैली परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

प्रदेश सभा सदस्य सुशिला बादीले युवा पुस्ताको सक्रियताले नीति निर्माणमा नयाँ दृष्टिकोण थपिएको बताउँदै महिला नेतृत्वले युवासँग सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखिन् ।

राजनीतिक विश्लेषक अर्जुन पोखरेलले जेन्जी आन्दोलनलाई असन्तोषको अभिव्यक्तिमात्र नभई लोकतन्त्रलाई मजबुत बनाउने चेतनाको संकेतका रूपमा लिनुपर्ने बताए ।

कार्यक्रमकी गेस्ट स्पिकर जेन्जी अभियन्ता प्रतिक्षा बस्नेतले युवाहरूको आन्दोलन सत्ता विरोधी मात्र नभई सुशासन र जवाफदेहिताको माग भएको स्पष्ट पारिन् । उनले महिला नेतृत्वले युवाको आवाजलाई चुनौती नभई अवसरका रूपमा बुझ्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रमको सहजीकरण कान्तिपुरकी पत्रकार रुपा गहतराजले गरेकी थिइन् । अन्तरक्रियाले महिला नेतृत्व र युवा पुस्ताबीचको सम्बन्धलाई थप सुदृढ गर्दै समावेशी र उत्तरदायी राजनीतिक अभ्यासतर्फ बहस अघि बढाएको आयोजकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments