बाँके — बैजनाथ गाउँपालिका–१, चिसापानीमा जारी प्रथम बैजनाथ कृषि तथा व्यापार पर्यटन महोत्सव–२०८२ अन्तर्गत बुधबार बहुचर्चित गायक प्रताप दासले आफ्नो प्रस्तुतीमार्फत दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका छन्।
गायक दासले ‘रेशम फिरिरी…’ र ‘कलिलो तामालाई…’ लगायतका चर्चित गीत गाएर चिसापानीको माहोललाई संगीतमय बनाएका थिए। प्रस्तुतीकै क्रममा उनी अचानक मञ्चबाट दर्शकमाझ पुगेपछि सुरक्षा व्यवस्था र आयोजक स्वयंसेवकलाई भीड नियन्त्रण गर्न हम्मे–हम्मे परेको थियो।
कार्यक्रममा गायक दाससँगै गायिका एन्जिला रेग्मी तथा ABCD Dance Group को आकर्षक नृत्य प्रस्तुतिले दर्शकलाई झनै उत्साहित बनाएको थियो।
आर्थिक समिति संयोजक टोपबहादुर मल्लका अनुसार बुधबार करिब १ हजार ५ सय दर्शकले टिकट लिएर कार्यक्रम अवलोकन गरेका थिए। उनका अनुसार महोत्सवप्रति दर्शकको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ।
यसैबीच, बिहीबार चर्चित गायक टंक तिमल्सिना, गायिका भूमिका गिरी, बालगायक रुपेश चन्द ठकुरी तथा एनिबडी क्यान डान्स ग्रुप को विशेष प्रस्तुति बिहान ११ बजेदेखि रहने स्थानीय डान्सर तथा मोडल जेनिस सुनारले जानकारी दिए।
मूल आयोजक समिति संयोजक नरेश भामका अनुसार बिहीबार करिब २ हजारदेखि ३ हजार दर्शक भित्र्याउने तयारी गरिएको छ। कृषि, व्यापार र पर्यटन प्रवर्द्धनलाई लक्ष्य गरी आयोजना गरिएको महोत्सवले स्थानीय कला, संस्कृति र व्यवसायलाई समेत प्रोत्साहन गरेको आयोजकले बताएका छन्।


