“क्रिकेटले युवालाई अनुशासन र अवसर”
कुशल दलामी
बाँके : युवालाई खेलकुदतर्फ आकर्षित गर्दै शारीरिक, मानसिक तथा सामाजिक विकासमा योगदान पुर्याउने उद्देश्यले बैजनाथ गाउँपालिका स्तरीय रंगशालामा सोमबारदेखि सुरु भएको प्रथम खुल्ला क्लब स्तरीय टेनिस क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत बर्दिया डाइनामाइट्सले टिम किरणनाला स्पोर्ट्समाथि शानदार जित हात पारेको छ।
टस जितेर टिम किरणनालाले बर्दिया डाइनामाइट्सलाई ब्याटिङको निम्तो दिएको थियो। निर्धारित १५ ओभर पूरा खेल्दै बर्दिया डाइनामाइट्सले ६ विकेटको क्षतिमा १९४ रनको बलियो योगफल तयार गर्यो। बर्दियाका लागि सन्दीप नेपालीले सर्वाधिक ३७ रनको योगदान दिए।
१९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको टिम किरणनाला स्पोर्ट्स १२१ रनमै समेटिन पुग्यो। किरणनालाका तर्फबाट असेकले सर्वाधिक ६३ रन जोडे पनि टिमलाई जित दिलाउन सकेनन्। खेलको म्यान अफ द म्याच बर्दिया डाइनामाइट्सका अजय सहनी घोषित भए। खेलसम्बन्धी जानकारी सम्झना क्रिकेट क्लबका कप्तान शौगात के.सी.ले दिनुभएको हो।
यसअघि प्रतियोगिताको उद्घाटन बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले गर्नुभएको थियो। प्रतियोगिता सोमबारदेखि सुरु भएको जानकारी वडा अध्यक्ष भुपाल पुन मगरले दिनुभयो।
क्रिकेट केवल मनोरञ्जनको साधन मात्र नभई युवाको भविष्य निर्माणसँग जोडिएको महत्वपूर्ण खेल बनेको छ। लागूऔषध दुव्र्यसन, बेरोजगारी र सामाजिक विकृतितर्फ उन्मुख हुनसक्ने युवालाई खेलकुदले सकारात्मक बाटोतर्फ डो¥याउने आयोजकको विश्वास छ। क्रिकेटजस्ता टोली खेलले अनुशासन, नेतृत्व, सहकार्य, प्रतिस्पर्धात्मक भावना र आत्मविश्वास विकासमा ठूलो योगदान पुर्याउने गर्दछ।
स्थानीय तहमा यस्ता प्रतियोगिता सञ्चालन हुँदा गाउँ–गाउँका प्रतिभा पहिचान हुने, खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर खुल्ने र स्वस्थ समाज निर्माणमा टेवा पुग्ने जनप्रतिनिधिहरूको भनाइ छ। साथै खेलकुद पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्र चलायमान बनाउने र सामाजिक सद्भाव मजबुत बनाउने पक्ष पनि क्रिकेट प्रतियोगिताको महत्वपूर्ण औचित्यका रूपमा लिइएको छ।

प्रतियोगिताको विजेता क्लबले नगद रु १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता क्लबले नगद रु ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
त्यसैगरी उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई नगद रु ५–५ हजार, इमर्जिङ प्लेयरलाई नगद रु २ हजार ५ सय तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद रु १ हजार प्रदान गरिनेछ। प्रतियोगितामा कुल ११ क्लब सहभागी रहेका छन्।
आयोजक न्यु जर्नी युथ क्लबले पहिलोपटक क्रिकेट प्रतियोगिता आयोजना गरेको हो। क्लबका अध्यक्ष तथा वडा अध्यक्ष भुपाल पुन मगरका अनुसार आगामी दिनमा यस प्रतियोगितालाई निरन्तरता दिँदै दोस्रो र तेस्रो संस्करण समेत आयोजना गरिनेछ।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, खेल प्रशिक्षक, युवा क्लबका पदाधिकारी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको रेफ्री पवन धितालले जानकारी दिनुभयो।


