शिवानी विक नेपालगन्ज पुस ७- कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवलाई लिएर केही विवाद देखिएका छन्, जसमा सडक कब्जा र आयोजनासम्बन्धी सुरक्षा व्यवस्थाको प्रश्न पनि समावेश छन् । संघका अध्यक्ष प्रदिप भट्टराईले भने,“विवादले विकास रोक्दैन, । महोत्सव स्थानीय उद्योगी, व्यवसायी र किसानलाई बजारसँग जोड्ने अवसर हो । सडक व्यवस्थित गरेर सुरक्षा सुनिश्चित गर्दै कार्यक्रम अघि बढाइन्छ । हामीले कोहलपुरको अर्थतन्त्रलाई चलायमान बनाउने हाम्रो लक्ष्यमा पछि हट्ने छैनौं”
उनले भने महोत्सवले साना तथा घरेलु उद्योग, कृषि उत्पादन, हस्तकला र सेवामूलक व्यवसायलाई प्रत्यक्ष लाभ पुर्याउने अपेक्षा गरिएको छ। “स्थानीय उत्पादनलाई प्राथमिकता दिइनेछ, जसले व्यवसायीलाई आत्मनिर्भर बनाउने र नयाँ रोजगारी सिर्जना गर्ने आधार तयार गर्छ । सडक कब्जा गरिएको होइन सहमतीमा गरिएको हो । यसको समस्या समाधान गरेर कार्यक्रमलाई व्यवस्थित बनाउने हाम्रो प्राथमिकता हो ।”
महोत्सवमा समावेश हुने सांस्कृतिक कार्यक्रमहरूले पनि स्थानीय कला र परम्परागत प्रस्तुतीको प्रवर्द्धन गर्नेछन् । अध्यक्ष भट्टराईले भने,
“व्यवसायसँगै संस्कृति हाम्रो पहिचान हो । स्थानीय कला र संस्कृतिलाई उजागर नगरी विकास सम्भव छैन ।
सडक कब्जा र आयोजनासम्बन्धी विवादका विषयमा उनले संवाद र सहकार्यबाट समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरे ।
“असहमति आउनु स्वाभाविक हो, तर सबै पक्षलाई समेटेर समाधान निकालिने उनले बताए । महोत्सव सबैका लागि उपयोगी, सुरक्षित र व्यवस्थित बनाउने हाम्रो प्रयास जारी छ,” अध्यक्ष भट्टराईले स्पष्ट पारे ।
स्थानीय व्यवसायीहरूले महोत्सवले बजारमा चहलपहल बढाउने, अस्थायी रोजगारी सिर्जना गर्ने र स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । आयोजकले महोत्सवलाई सुरक्षित, मर्यादित र पारदर्शी रूपमा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।


