नेपालगन्ज पुस ७ – नेपालगन्ज–गुलरिया सडकखण्ड अन्तर्गत धम्बोझीस्थित खजुरारोड विस्तारका लागि नेपालगन्ज उपमहानगरपालिकाले सक्रिय पहल थालेको छ । लामो समयदेखि अन्योलमा रहेको उक्त सडकखण्ड विस्तारका लागि हुलाकी राजमार्ग निर्देशनालयसँग समन्वय प्रक्रिया अघि बढाइएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तथा नगर कार्यपालिकाका प्रवक्ता प्रमोद रिजालले सडक विस्तारका लागि उपमहानगरपालिकाले हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जसँग आवश्यक समन्वय सुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगन्ज–गुलरिया सडकको अधिकांश काम सम्पन्न भइसकेको छ भने धम्बोझीतर्फको बाँकी सडक विस्तारका लागि सहजीकरण गर्न उपमहानगरपालिका तयार रहेको जनाएको छ ।
नगर प्रवक्ता रिजालले भन्नुभयो, “सडक मापदण्डभित्र परेका केही संरचना हटाउनुपर्ने अवस्था रहेकाले हुलाकी राजमार्ग निर्देशनालयले सहयोगको अपेक्षा गरेको छ । उपमहानगरपालिका र वडा कार्यालय आवश्यक समन्वय र सहजीकरण गर्न तयार छन् ।”
सडक विस्तारको विषयलाई केन्द्रीय एजेन्डा बनाएर हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्ज र नेपालगन्ज उपमहानगरपालिकाबीच छिट्टै समन्वय बैठक बस्ने तयारी गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले सडक निर्माणको प्रारम्भिक चरणमै हुलाकी राजमार्ग निर्देशनालयसँग छलफल भएको उल्लेख गर्दै अब बाँकी सडकखण्ड विस्तारका लागि आवश्यक सबै सहयोग गर्न उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
धम्बोझीदेखि बर्दियाको गुलरियासम्म सडक विस्तार गर्ने योजना भए पनि धम्बोझी क्षेत्र घना बस्ती भएकाले करिब दुई किलोमिटर पश्चिम नन्दनी मिलबाट सडक निर्माण कार्य सुरु गरिएको थियो । नन्दनी मिलदेखि गुलरियासम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख डिभिजनल इन्जिनियर लीलाबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय बासिन्दाबीच सहमति जुटेपछि धम्बोझीदेखि नन्दनी मिलसम्मको सडक निर्माण कार्य पनि तत्काल अघि बढाइनेछ ।
धम्बोझीदेखि नन्दनी मिलसम्म सडक क्षेत्रभित्र दर्जनौँ घर तथा अन्य संरचना परेकाले निर्माण कार्य अघि बढाउन कठिनाइ भएको छ । ३२ किलोमिटर लामो नेपालगन्ज–गुलरिया सडक करिब तीन अर्ब रुपैयाँको लागतमा शर्मा एन्ड शर्मा कम्पनीले निर्माण गरिरहेको छ । उक्त सडक घना बस्ती क्षेत्रमा चार लेन र अन्य क्षेत्रमा दुई लेनको निर्माण गरिएको छ ।


