नेपालगन्ज पुष ८ – कोहलपुर उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको सातौँ महोत्सव–२०८२ भोलि न्यूरोडस्थित खुला मैदानमा दिउँसो १ बजेबाट भव्यताका साथ सुरु हुँदैछ । वि.सं. २०६५ देखि निरन्तर चलिरहेको यो महोत्सव यस वर्ष थप आकर्षक र रमाइलो रूपमा प्रस्तुत हुने आयोजकहरूले बताएका छन् ।
महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने कार्यक्रम रहेको छ ।
संघका अध्यक्ष प्रदीप भट्टराईले पत्रकारहरूलाई जानकारी दिंदै,“यो महोत्सव व्यापारिक मेलाको रूपमा होइन, कोहलपुरको सांस्कृतिक र आर्थिक पहिचानको प्रतिनिधित्व गर्ने मञ्चका रूपमा हेरिएको छ । स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र रोजगारी सिर्जना गर्ने हाम्रो मुख्य लक्ष्य हो उनले भने, हामी सम्पूर्ण नगरवासीलाई यसमा सहभागी भई उत्सवको आनन्द लिन आमन्त्रित गर्दछौ ।
यस वर्षको महोत्सवमा ३०० भन्दा बढी स्टलहरू रहनेछन् । त्यसमध्ये २५० व्यावसायिक स्टल, २२ होटल स्टल र १५ प्रवर्द्धनात्मक स्टल तयार पारिएका छन् । विशेष आकर्षणको रूपमा ‘थारू गाउँ’ बनाइएको छ, जसमा १७ वटा होटल र रेस्टुरेन्ट सहभागी छन् । यहाँको प्रमुख उद्देश्य स्थानीय सांस्कृतिक पहिचान प्रस्तुत गर्नु र पर्यटक तथा शहरबासीलाई कोहलपुरको विविधतालाई अनुभव गराउनु हो ।
महोत्सवका दिन राष्ट्रिय तथा स्थानीय कलाकारले बेजोड प्रस्तुति दिनेछन् । विद्यालयस्तरीय नृत्य प्रतियोगिता, पारम्परिक सांस्कृतिक कार्यक्रम र पहिलो पटक आयोजना हुने ‘जलपरी शो’ (Water Show)ले दर्शकलाई मनोरञ्जनको नयाँ अनुभव दिने आयोजकहरूको विश्वास छ । यसले पारिवारिक दर्शकदेखि युवा समुदायसम्म सबैलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
सुरक्षा र व्यवस्थित व्यवस्थापनमा विशेष ध्यान दिइएको छ । सीसी क्यामेरा निगरानी, स्वास्थ्य शिविर, अग्नि नियन्त्रण उपकरण र पार्किङको प्रबन्ध गरिएको छ । प्रवेश शुल्क सर्वसाधारणका लागि रु. १००, विद्यार्थी र सहुलियत प्राप्त व्यक्तिका लागि रु. ८० तोकिएको भने ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूले निःशुल्क प्रवेश पाउने भएका छन् ।
आयोजकहरूले सामाजिक सञ्जालमा फैलिन सक्ने अफवाह र भ्रामक सूचनाबाट सचेत रहन नगरवासीलाई अनुरोध गर्दै सम्पूर्ण सहभागीहरूले उत्सवलाई सफल बनाउन अपिल गरेका छन् ।
महोत्सव केवल व्यापारिक अवसर नभई, कोहलपुरको साझा पहिचान र समुदायको एकता प्रदर्शन गर्ने अवसर पनि मानिएको छ । यहाँ स्थानीय उत्पादन, प्रविधि, सांस्कृतिक प्रस्तुति र मनोरञ्जनको विविधता समेटिएको छ, जसले नगरबासीलाई कोहलपुरको समृद्धि र सांस्कृतिक विविधताको वास्तविक अनुभव दिलाउनेछ ।
यस महोत्सवमा सहभागी भएर स्थानीय उत्पादन, परम्परागत कला र सांस्कृतिक प्रस्तुति देख्नु मात्र नभई, परिवार र साथीहरूसँग रमाइलो गर्न सकिने अवसर पनि छ । आयोजकहरूले आशा गरेका छन् कि महोत्सवले कोहलपुरको सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउनेछ र आर्थिक गतिविधिमा पनि सकारात्मक योगदान पुर्याउनेछ ।


