Tuesday, March 3, 2026
spot_imgspot_img
Homeयुनिक गतिबिधिनरैनापुर पर्यटन प्रवर्द्धनका लागि ‘नरैनापुर घोषणा–पत्र’ जारी

नरैनापुर पर्यटन प्रवर्द्धनका लागि ‘नरैनापुर घोषणा–पत्र’ जारी

बाँके : नरैनापुर गाउँपालिकाको सहकार्य तथा नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा “नरैनापुर पर्यटन सम्भावना र मिडियाको भूमिका” विषयक अन्तरक्रिया तथा वनभोज कार्यक्रम बाँकेको नरैनापुर गाउँपालिका–लक्ष्मणपुरमा सम्पन्न भएको छ।
कार्यक्रमका सभाध्यक्ष नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरि रहेका थिए भने प्रमुख अतिथिका रूपमा नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह सहभागी हुनुभएको थियो। यस्तै, विशिष्ट अतिथिका रूपमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्र ऋषि चौलागाईंको उपस्थिति रहेको थियो। कार्यक्रममा बाँके जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध क्रियाशील पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अन्तरक्रियामा नरैनापुर क्षेत्रका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो। वक्ताहरूले नरैनापुरमा प्रशस्त पर्यटन सम्भावना रहेकाले यसको पहिचान, संरक्षण, विकास र प्रचार–प्रसारमा मिडियाको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे।
अन्तरक्रिया कार्यक्रमपछि ‘नरैनापुर घोषणा–पत्र’ जारी गरिएको छ। घोषणा–पत्रमार्फत नरैनापुर गाउँपालिकाका वडा नं. २ देखि ६ सम्म रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको पहिचान, संरक्षण र प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाइएको छ। यस्तै, पर्यटन प्रवर्द्धनका लागि फोटो, श्रव्यदृश्य तथा भिडियो सामग्री निर्माण गरी सञ्चारमाध्यममार्फत प्रचार–प्रसार गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।
घोषणा–पत्रमा पर्यटकीय क्षेत्रको पूर्वाधार विकास, सांस्कृतिक गतिविधिको संरक्षण तथा प्रवर्द्धन, वातावरणीय सन्तुलन कायम गर्दै दीगो पर्यटन विकास गर्ने विषयमा स्थानीय सरकार, सञ्चारमाध्यम र सरोकारवाला निकायबीच सहकार्य गर्ने उल्लेख छ। साथै, पर्यटन गन्तव्यको पहिचान तथा नक्साङ्कन गरी नेपाल पत्रकार महासंघ, जिल्लाका मिडिया हाउस तथा पत्रकारहरूसँग सहकार्य गर्दै पर्यटन प्रवर्द्धन अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
कार्यक्रमले नरैनापुरको पर्यटन विकासमा नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गर्दै सहभागीहरूले स्थानीय तह र मिडियाबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments