नेपालगन्ज, पुस ९ । ‘दिगो विकासको उत्सव’ भन्ने मूल नारासहित कोहलपुर महोत्सवको भव्य उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले कोहलपुरजस्तो उदाउँदो सहरको आर्थिक विकास, लगानीमैत्री वातावरण र उद्यमशीलता प्रवर्द्धनमा यस्ता महोत्सवहरूको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।
कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक प्रदीप भट्टराईले महोत्सवको उद्देश्य र महत्वबारे जानकारी गराउँदै ‘भिजिट बाँके नेसनल पार्क–२०२६’ अभियानको औपचारिक घोषणा गरेका छन् । यस अभियानले बाँके जिल्लाको पर्यटन प्रवर्द्धनसँगै स्थानीय आर्थिक गतिविधिमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख, उप–प्रमुख तथा विभिन्न वडाध्यक्षहरूले महोत्सवले कोहलपुरलाई आर्थिक हबका रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । साथै नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेतृत्वले विकासका साझा एजेन्डामा सबै राजनीतिक दल एकजुट हुनु सकारात्मक सन्देश भएको बताएका छन् ।
लुम्बिनी, कर्णाली र बागमती प्रदेशका उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले अन्तर–प्रदेश व्यापारिक सम्बन्ध विस्तार र सहकार्यको आवश्यकता औँल्याएका छन् ।
कार्यक्रमको सुरुआत स्वस्ती वाचन र पानसमा बत्ती बालेर गरिएको थियो । उद्घाटन सत्रमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बाँके तथा निन्जा डान्स स्टुडियोका कलाकारहरूले आकर्षक सांगीतिक र नृत्य प्रस्तुति दिँदै कार्यक्रमलाई थप रौनक प्रदान गरेका थिए ।
उक्त अवसरमा अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । आयोजकका अनुसार महोत्सव अवधिभर स्थानीय उत्पादनको प्रदर्शनी, कृषि प्रवर्द्धन, व्यवसायिक स्टलहरू तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरूको विविध सांस्कृतिक प्रस्तुति रहनेछ ।



