कोहलपुर, १६ पुस
कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा पुस ९ गतेदेखि सञ्चालन भइरहेको कोहलपुर महोत्सव–२०८२ दिनप्रतिदिन थप आकर्षक बन्दै गएको छ । महोत्सवको आठौँ दिन बुधबार चर्चित गायक तथा गीतकार प्रकाश सपूत को दमदार प्रस्तुतिले महोत्सवस्थल दर्शकले खचाखच भरिएको थियो ।
“बोल माया” गीतमार्फत अत्यधिक लोकप्रिय बनेका सपूतले आफ्ना आधा दर्जनभन्दा बढी चर्चित गीतहरू प्रस्तुत गर्दै युवा दर्शकलाई नचाएका थिए । दर्शकहरू गीतसँगै स्वर मिलाउँदै झुम्दा महोत्सव परिसर पूर्ण रूपमा सांगीतिक उत्सवमा परिणत भएको थियो ।
उक्त दिन ‘अन्टी लभर’ गीतमार्फत चर्चामा रहेकी गायिका कला लम्साल ले पनि सशक्त प्रस्तुति दिँदै दर्शकको मन जितिन् । उनको ऊर्जाशील गायन र प्रस्तुतीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
त्यसैगरी चर्चित मोडल तथा डान्सर अस्मिता पुरी र उदयमान गायिका भगवती नेपाली ले समेत प्रस्तुति दिँदै दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरे ।
महोत्सव सचिवालयका अनुसार आठौँ दिनसम्म आइपुग्दा महोत्सव अवलोकन गर्ने दर्शक संख्या एक लाख नाघेको छ । सांस्कृतिक कार्यक्रमसँगै महोत्सवस्थलमा रहेका बाल उद्यान, थारु गाउँ, व्यावसायिक स्टल, टक शो तथा वाटर शो दर्शकका प्रमुख आकर्षण बनेका छन् ।

कोहलपुर क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासलाई लक्ष्य गर्दै आयोजना गरिएको कोहलपुर महोत्सव–२०८२ मा आगामी दिनहरूमा पनि दर्शकको उत्साहजनक सहभागिता रहने आयोजकको अपेक्षा छ ।
भोली पौष १७ गतेका कलाकार महोत्सवको नवौँ दिन बिहिबार चर्चित गायक अर्जुन सापकोटा, देउडा गायिका एब्सल सन्जेल र मोडल आरुसी मगर को विशेष प्रस्तुति रहने महोत्सव कला संस्कृति संयोजक चन्डी प्रसाद गैरेले जानकारी दिनुभयो।


