कोहलपुर, बाँके — युवाको सामाजिक प्रतिनिधित्व गर्दै लामो समयदेखि सक्रिय सामाजिक अभियन्ता रमेश वरले औपचारिक रूपमा आफ्नो राजनीतिक यात्रा सुरु गरेका छन्। सामाजिक सेवामार्फत कोहलपुर क्षेत्रमा छुट्टै पहिचान बनाएका वर हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेसँगै स्थानीय राजनीतिक वृत्तमा उल्लेखनीय चर्चा सुरु भएको छ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यका विश्वासपात्रका रूपमा लामो समय सँगै रहेर काम गरेका वर, कोहलपुर नगर स्तरीय युवा क्लब सञ्जालका अध्यक्ष समेत रहिसकेका छन्। युवाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र सामुदायिक अभियानमा अग्रसर रहँदै आएका उनले अब ती अनुभवलाई राजनीतिक माध्यमबाट राष्ट्र निर्माणमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, रास्वपाका सभापति रवि लामिछाने तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अघि सारेको वैकल्पिक र सुशासनमुखी राजनीतिसँग प्रेरित भएर आफू रास्वपामा आबद्ध भएको रमेश वरले बताएका छन्।
लामो समयदेखि कोहलपुर क्षेत्रमा सामाजिक अभियन्ताका रूपमा परिचित वर विशेषगरी जेन्जी (Gen-Z) उमेर समूहका युवामाझ लोकप्रिय छन्। उनको राजनीतिक प्रवेशसँगै सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया देखिएको छ भने युवाहरूमा नयाँ राजनीतिक धारप्रति उत्साह बढेको देखिन्छ।
स्थानीय स्रोतका अनुसार, अघिल्लो निर्वाचनमा नगर प्रमुख आचार्यलाई जिताउन सक्रिय भूमिका खेलेका वरसँगै करिब पाँच हजार युवाहरू आगामी दिनमा उनको राजनीतिक यात्रामा खुलेर साथ दिने तयारीमा छन्। यसले कोहलपुरको राजनीतिक समीकरणमा नयाँ मोड आउने संकेत देखिएको छ।
युवाका मुद्दा, पारदर्शिता, जवाफदेहिता र दूरदर्शी नेतृत्वलाई केन्द्रमा राख्दै अघि बढ्ने रमेश वरको राजनीतिक यात्राले स्थानीय तहमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।


