Thursday, January 15, 2026
spot_imgspot_img
Homeराष्ट्रियकोहलपुर महोत्सवमा परम्परा र उद्यमशीलताको संगम

कोहलपुर महोत्सवमा परम्परा र उद्यमशीलताको संगम

१८ पुस, कोहलपुर ।
कोहलपुरमा जारी कोहलपुर महोत्सव यसपटक विविध कारणले चर्चाको केन्द्रमा बनेको छ । पुस ९ गतेदेखि कोहलपुर न्यूरोडमा सञ्चालन भइरहेको महोत्सवमा थारु गाउँ विशेष आकर्षणको रूपमा देखिएको छ । अघिल्ला वर्षभन्दा फरक ढंगले सजाइएको थारु गाउँमा परम्परागत संस्कृति झल्किने कलाकृति, सामग्री तथा खानपानले अवलोकनकर्ताको ध्यान तानेको छ ।
महोत्सवको अर्को प्रमुख आकर्षण मट्का चियाको स्टल बनेको छ । परम्परागत स्वादलाई आधुनिक उद्यमसँग जोड्दै कोहलपुर निवासी युवा उद्यमी रमेश चौधरीले मट्का चियामार्फत फरक पहिचान बनाएका छन् । स्नातक तहको अध्ययनसँगै सुरक्षित जागिरको खोजीभन्दा स्वरोजगार रोजेका चौधरीले माटोको भाँडो (मटका) मा पकाइने चियालाई विशेष स्वाद र सुगन्धसहित बजारमा ल्याएका हुन् । प्राकृतिक स्वाद र स्वास्थ्यका दृष्टिले लाभदायक मानिने यस चियाले महोत्सवमा चियाप्रेमीको उल्लेख्य भीड तानेको छ ।
त्यसैगरी महोत्सव परिसरमा राखिएका स्थानीय तथा घरेलु उत्पादनका स्टलहरूमा समेत चहलपहल बढेको छ । खेलौना (गुडिया), अगरबत्ती, अचार, घरेलु औजार तथा खाद्यजन्य सामग्रीका स्टलहरूले अवलोकनकर्ताको ध्यान तानिरहेका छन् ।
यस वर्षको महोत्सवमा शैक्षिक, साहित्यिक र पर्यटन प्रवर्द्धनसम्बन्धी गतिविधिहरू पनि समावेश गरिएका छन् । तक्षशिला एकेडेमीले शैक्षिक प्रदर्शनी राखेको छ भने टुर एण्ड ट्राभल्स एशोसिएशन (नाट्टा) बाँकेले बाँके राष्ट्रिय निकुञ्जसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिरहेको छ । नाट्टा बाँकेका महासचिव भागिराम वलीका अनुसार स्टलमार्फत सहुलियत दरमा राष्ट्रिय निकुञ्ज अवलोकनको व्यवस्था गरिएको छ ।
महोत्सव अवधिभर अवलोकनकर्ताका लागि निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था समेत गरिएको छ । उप–मुख्य प्रायोजक नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरले निःशुल्क स्वास्थ्य सेवा तथा एम्बुलेन्स सेवा उपलब्ध गराइरहेको छ । साथै कोहलपुर डेन्टल अस्पतालले पनि निःशुल्क दन्त सेवा प्रदान गरिरहेको छ ।


यसका अतिरिक्त महोत्सवमा बाल उद्यान, जलपरी तथा होटल–रेस्टुरेन्टका विभिन्न व्यावसायिक स्टलहरू सञ्चालनमा रहेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments