काठमाडौं ।
नेपाली कांग्रेस बाँकेका सह–सचिव विनोद थारुले नेपाली कांग्रेस वर्तमान अवस्थामा गम्भीर संकटतर्फ उन्मुख रहेको भन्दै पार्टी नेतृत्वलाई समयमै आत्मसमीक्षा गर्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत सम्पूर्ण पदाधिकारी तथा शीर्ष नेताहरूलाई सम्बोधन गर्दै थारुले पार्टीको ऐतिहासिक भूमिका र वर्तमान अवस्थाबीच गहिरो अन्तर देखिएको बताएका छन् ।
“हामी सबै जननायक बी.पी. कोइरालाका कार्यकर्ता हौं। बी.पी. ले जीवनको अन्तिम क्षणसम्म ‘हामी सिक्ने हो, सिक्दै जाने हो’ भन्नुभएको थियो,” थारुले उल्लेख गर्दै भनेका छन्, “तर आज देशभरका लाखौं कांग्रेस शुभचिन्तक र कार्यकर्ताले पार्टी चारतारे झण्डा र रुख चिन्हको अवस्था चिन्ताजनक र कोमाजस्तै भएको अनुभूति गरिरहेका छन्।”
उनले नेपाली कांग्रेस मास बेस पार्टी भएकाले विभिन्न विचार र धारणा हुनु स्वाभाविक भए पनि समयसापेक्ष सोच र वैज्ञानिक राजनीतिशास्त्रीय दृष्टिकोण आवश्यक रहेको बताए । मार्क्सवाद, प्लेटो, मेकियाभेली, चाणक्यनीतिजस्ता दर्शन समयअनुसार समाज बुझ्न उपयोगी हुने उल्लेख गर्दै थारुले राजनीतिलाई विज्ञानका रूपमा बुझ्नुपर्ने धारणा राखेका छन् ।
थारुले स्व. प्रदीप गिरिले केही वर्षअघि दिएको चेतावनी आज सत्य सावित भएको दाबी गर्दै विगतका कमजोरीकै कारण देशले ठूलो मूल्य चुकाउनुपरेको स्मरण गराएका छन् । “राजनीतिमा अनुशासन, आदर्श र सिद्धान्त पालना नगरेसम्म सफलता सम्भव हुँदैन,” उनले भने ।
नेपाली कांग्रेसजस्तो आठ दशक लामो इतिहास बोकेको, तीनवटा ठूला आन्दोलनको नेतृत्व गरेको पार्टी कमजोर बन्दै गए देश र लोकतन्त्र दुवै जोखिममा पर्ने चेतावनी पनि उनले दिएका छन् ।
“जसरी घरपरिवारका अभिभावकले भविष्यका लागि सही निर्णय लिन्छन्, त्यसैगरी पार्टी र देशका नेतृत्वले भावी पुस्तालाई हेरेर निर्णय गर्नुपर्छ,” थारुले जोड दिए, “समयमै सच्चिनु बाहेक अब अर्को विकल्प छैन।”
थारु नेपाली कांग्रेस बाँकेका सह–सचिव हुन् । उनी नेपाल विद्यार्थी संघका पूर्व सचिवालय सदस्य तथा त्रि–चन्द्र क्याम्पस, काठमाडौंसँग आबद्ध रहेका छन् ।


