नेपालगन्ज : बाँकेको बैजनाथ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा बैजनाथ गाउँपालिका–४ निवासी २८ वर्षीय नवीन बुढाको ज्यान गएको हो।
बैजनाथ–३ स्थित बैरहवाबाट वनखेततर्फ जाने खोलामा बुधबार दिउँसो करिब २ बजेको समयमा ट्याक्टर दुर्घटनामा परेको हो। बैजनाथ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष निखिल बैगारका अनुसार मृतक बुढा ट्याक्टरका धनीसमेत थिए।
माटो अनलोड गरेर फर्किने क्रममा ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको वडाध्यक्ष बैगारले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएका बुढाको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
मृतकको शव पोष्टमार्टम पश्चात बिहीबार (आज) अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।


