बाँके : नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि मुस्लिम अल्पसंख्यक महिला क्लस्टरबाट समानुपातिक उम्मेदवार जामिया खातुन यतिबेला गाउँ–गाउँ र टोल–टोलमा जनभेटघाट गर्दै पार्टीका पक्षमा भोट माग्न व्यस्त रहनुभएको छ।

लामो समयदेखि नेपालगन्जलाई कर्मथलो बनाएर समाजसेवा गर्दै आउनुभएकी खातुन सामाजिक अभियन्ता तथा महिला उद्यमीका रूपमा परिचित हुनुहुन्छ। सामाजिक अभियन्ता रहँदा उहाँले विशेषगरी मुस्लिम समुदायका महिला, विपन्न वर्ग र अल्पसंख्यक समुदायका हक–अधिकारका विषयमा निरन्तर आवाज उठाउँदै आउनुभएको थियो।
महिला सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धन र सामाजिक न्यायका क्षेत्रमा सक्रिय रहँदै आएकी खातुनले समुदायस्तरमा विश्वासिलो नेतृत्वका रूपमा पहिचान बनाउनु भएको छ। उहाँका सामाजिक अभियानहरूले धेरै महिलालाई आत्मनिर्भर बन्न प्रेरित गरेको स्थानीय बताउँछन्।
पछिल्लो चरणमा सक्रिय राजनीतिमा प्रवेश गर्नुभएकी खातुन नेकपा (एकीकृत समाजवादी) हुँदै पार्टी एकता पश्चात नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध भई चुनावी अभियानमा सक्रिय रहनुभएको हो। पार्टीले उहाँलाई मुस्लिम अल्पसंख्यक महिला क्लस्टरबाट समानुपातिक उम्मेदवारका रूपमा अघि सारेको छ।
हाल जनभेटघाटका क्रममा खातुनले समावेशी राजनीति, महिला अधिकार, सामाजिक न्याय र अल्पसंख्यक समुदायको सुनिश्चित प्रतिनिधित्व आफ्नो प्रमुख एजेन्डा रहेको बताउँदै आउनुभएको छ। उहाँको उम्मेदवारीले संसदमा महिला तथा मुस्लिम समुदायको आवाज अझ मजबुत हुने अपेक्षा गरिएको छ।


