Tuesday, March 10, 2026
spot_imgspot_img
Homeराष्ट्रियविजयी र उपविजेतालाई रास्वपा बाँकेको सम्मान, जनसेवामा एकताबद्ध रहने प्रतिबद्धता

विजयी र उपविजेतालाई रास्वपा बाँकेको सम्मान, जनसेवामा एकताबद्ध रहने प्रतिबद्धता

बाँके, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँके जिल्ला समितिको आयोजनामा प्रतिनिधि सभा सदस्यमा निर्वाचित तथा उम्मेदवारहरूलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। जिल्ला सभापति हरिपाल सिंह केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका विजयी तथा उपविजेता उम्मेदवारहरूलाई सम्मान गर्दै आगामी दिनमा जनसेवामा थप सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिएको हो।
कार्यक्रममा बाँके क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुरेश कुमार चौधरी, बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनार, बाँके ३ का उपविजेता बिबेक कुमार श्रेष्ठ तथा समानुपातिक उम्मेदवार शुष्मा स्वर्णाकारलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।
उक्त अवसरमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले शुभकामना मन्तव्य व्यक्त गर्दै नयाँ नेतृत्वबाट बाँके जिल्लाको समग्र विकास, सुशासन र आर्थिक सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो।
उपविजेता बिबेक कुमार श्रेष्ठले निर्वाचन परिणाम जे भए पनि आफू सधैं जनताको सेवामा समर्पित रहने प्रतिबद्धता जनाउनुभयो। उहाँले जनताको विश्वास नै आफ्नो शक्ति भएको उल्लेख गर्दै सक्रिय राजनीतिक यात्रालाई निरन्तरता दिने बताउनुभयो।
बाँके १ का प्रतिनिधि सभा सदस्य सुरेश कुमार चौधरीले आफ्नो अनुभव साझा गर्दै “पराजयपछि नै जितको आधार तयार हुन्छ” भन्ने सन्देश दिनुभयो। उहाँले राजनीतिक यात्रामा धैर्यता, निरन्तरता र जनसेवा नै सफलता प्राप्तिको मूल मन्त्र भएको उल्लेख गर्दै सबैलाई निराश नहुन आग्रह गर्नुभयो। साथै, सम्मान कार्यक्रम आयोजना गरेकोमा जिल्ला समितिलाई धन्यवाद व्यक्त गर्नुभयो।
त्यस्तै, बाँके ३ का निर्वाचित सांसद खगेन्द्र सुनारले आफूलाई जनताले सेवा गर्ने अवसर दिएकोमा सम्पूर्ण बाँके ३ का मतदाता तथा आम नागरिकप्रति आभार प्रकट गर्नुभयो। उहाँले बाँके जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा सम्पर्क कार्यालय स्थापना गरिने जानकारी दिँदै ती कार्यालयहरू बिहान १०:०० बजेदेखि बेलुका ५:०० बजेसम्म खुला रहने बताउनुभयो। जनताका सुझाव तथा गुनासो संकलन गरी समाधानका लागि पहल गरिने उल्लेख गर्दै जिल्लाका जुनसुकै स्थानमा समस्या परे पनि सम्पर्क कार्यालयमार्फत जानकारी दिन आग्रह गर्नुभयो।
सुनारले बाँके २ का कार्यकर्ता तथा जनतालाई निराश नहुन आग्रह गर्दै सम्पूर्ण देशको जिम्मेवारी आफूहरूलाई दिइएको उल्लेख गर्नुभयो। जनताको हरेक सुख–दुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गर्दै सम्मान कार्यक्रम आयोजना गरेकोमा जिल्ला समितिप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रमको समापन गर्दै जिल्ला सभापति हरिपाल सिंह केसीले उपस्थित सम्पूर्ण नेता, कार्यकर्ता तथा अतिथिहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रमबारे जानकारी जिल्ला सदस्य रामबहादुर बिष्टले दिनुभएको थियो।
रास्वपा बाँकेले विजयी तथा उपविजेता दुवै पक्षलाई समान सम्मान गर्दै संगठनात्मक एकता, जनउत्तरदायित्व र विकासको साझा लक्ष्यमा अघि बढ्ने सन्देश दिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments