Wednesday, March 11, 2026
spot_imgspot_img
Homeसमाजकोहलपुरमा पहिलोपटक राष्ट्रिय टि–२० प्रतियोगिता, क्रिकेटमार्फत सहर चिनाउने लक्ष्य

कोहलपुरमा पहिलोपटक राष्ट्रिय टि–२० प्रतियोगिता, क्रिकेटमार्फत सहर चिनाउने लक्ष्य

बाँकेको कोहलपुरमा पहिलोपटक राष्ट्रिय स्तरको टि–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। यही फागुन २८ गतेदेखि सुरु हुने कोहलपुर प्राइड लिगले स्थानीय क्रिकेट विकाससँगै कोहलपुरलाई राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको तयारी अहिले तीव्र पारिएको आयोजकले जनाएको छ । कोहलपुर–११ स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पिच निर्माण, मैदान व्यवस्थापन र आवश्यक पूर्वाधार तयार पार्ने काम तीव्र गतिमा भइरहेको छ ।

प्रतियोगिताका संयोजक विनायक गिरीका अनुसार क्रिकेटलाई माध्यम बनाएर कोहलपुरलाई खेलकुदको नयाँ केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । उनले प्रतियोगितामा राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू विनोद भण्डारी, भिम सार्की र कुशल मल्लको सहभागिता रहने जानकारी दिए ।

प्रतियोगितामा देशका विभिन्न स्थानबाट आएका ६ क्लबले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमहरूमा युनाइटेड क्लब, कोहलपुर स्पोर्ट एकेडेमी, हिमालयन क्रिकेट एकेडेमी, एस.के. कलेज धनगढी, न्यू होराइजन भैरहवा र ब्राइडल्याण्ड स्कुल रहेका छन् । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रत्येक दिन दुई खेल आयोजना गरिनेछ ।

प्रतियोगितामा विजेता टोलीले ४ लाख रुपैयाँ तथा उपविजेताले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

करिब ३० लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगिताको मुख्य प्रायोजक क्याम्पा बेभरेज रहेको छ भने कोहलपुर नगरपालिका संरक्षकका रूपमा रहनेछ । प्रतियोगिताको आतिथ्यता सिद्धार्थ होटलले गर्नेछ भने बाँके जिल्ला क्रिकेट संघले समन्वय गर्नेछ ।

प्रतियोगिताको उद्घाटन समारोहमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । साथै राष्ट्रिय कलाकार टंक तिमिल्सीनाको विशेष प्रस्तुति पनि रहने आयोजकले जनाएको छ ।

खेल हेर्न आउने दर्शकका लागि कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ । आयोजकले प्रतियोगितालाई सफल बनाउन खेलप्रेमीलाई मैदानमै उपस्थित भएर खेलाडीहरूलाई हौसला दिन आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान लेकबहादुर क्षेत्रीले यस्ता प्रतियोगिताले कोहलपुरमा क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगिताको मिडिया कोअर्डिनेटरका रूपमा संजय मण्डल रहेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments