बाँके, बैजनाथ । बैजनाथ गाउँपालिकामा आईतवारदेखि आधारभूत तह अन्तर्गत कक्षा ५ र ८ को वार्षिक परीक्षा सुरु भएको छ। परीक्षा मर्यादित, व्यवस्थित र निष्पक्ष बनाउन गाउँपालिकाले विशेष तयारी गरेको जनाएको छ।
गाउँपालिकाबाट प्रश्नपत्र नगर प्रहरीमार्फत सम्बन्धित परीक्षा केन्द्रहरूमा सुरक्षित रूपमा पुर्याउने व्यवस्था मिलाइएको छ। कक्षा ५ का विद्यार्थीहरूका लागि होम सेन्टरमै परीक्षा सञ्चालन गरिएको छ भने कक्षा ८ का विद्यार्थीहरूलाई तोकिएका परीक्षा केन्द्रहरूमा सहभागी गराइएको छ।
परीक्षा सिसिटिभी क्यामेराको निगरानीमा सञ्चालन भइरहेको छ। साथै आकस्मिक अनुगमन टोलीसमेत तयार गरी परीक्षा केन्द्रहरूमा खटाइएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाबाटै सबै परीक्षा केन्द्रहरूको सिसिटिभीमार्फत प्रत्यक्ष अनुगमन तथा नियन्त्रण भइरहेको छ।
गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही ले परीक्षा मर्यादित बनाउन र शैक्षिक गुणस्तर वृद्धि गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँका अनुसार यस वर्ष कक्षा ५ को परीक्षा होम सेन्टरमा सञ्चालन गरिएको छ भने शिक्षक तथा कर्मचारीहरूलाई कडा निर्देशन दिइएको छ। परीक्षा सम्पन्न भएपछि उत्तरपुस्तिका शिलबन्दी गरी नगर प्रहरीमार्फत गाउँपालिकामा ल्याइने र विद्यालयको कोडअनुसार कापी जाँच गरिने व्यवस्था मिलाइएको छ।
गत वर्ष सामुदायिक विद्यालयहरूको तुलनामा निजी विद्यालयहरूको नतिजा उत्कृष्ट आएको थियो भने सामुदायिक विद्यालयहरूको नतिजा अपेक्षाकृत कमजोर देखिएको थियो। यस वर्ष भने सुधारिएको व्यवस्थापन र कडाइका कारण सकारात्मक नतिजा आउने विश्वास अध्यक्ष शाहीले व्यक्त गर्नुभयो।
परीक्षामा भइरहेको लगानीअनुसारको उपलब्धि हासिल हुनेमा आफू विश्वस्त रहेको अध्यक्ष शाहीले बैजनाथ राष्ट्रिय दैनिकलाई जानकारी दिनुभयो।


