Tuesday, March 24, 2026
spot_imgspot_img
Homeबिबिधबैजनाथमा बड्घर–चौकीदारलाई साईकल वितरण

बैजनाथमा बड्घर–चौकीदारलाई साईकल वितरण

बाँके (बैजनाथ) : बैजनाथ गाउँपालिकाले थारु समुदायको संस्कृति संरक्षण तथा सशक्तीकरणलाई प्राथमिकतामा राख्दै चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेटमार्फत बड्घर र चौकीदारलाई साईकल वितरण गरेको छ। सोमबार गाउँपालिका कार्यालय परिसर रामपुरमा आयोजित औपचारिक कार्यक्रममा साईकल हस्तान्तरण गरिएको हो।


गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार वडा नम्बर १ देखि ८ सम्म गठित ३६ टोलका थारु समुदायका बड्घर तथा चौकीदारलाई कुल ३६ वटा साईकल वितरण गरिएको हो। गाउँ–समाजका विवाद समाधान र सामाजिक समन्वयमा सक्रिय रहँदै आएका बड्घर र चौकीदारलाई आवतजावतमा सहजता होस् भन्ने उद्देश्यले साईकल उपलब्ध गराइएको अध्यक्ष शाहीले जानकारी दिए।
थारु समुदायमा बड्घर र चौकीदारले सामाजिक नेतृत्व गर्दै गाउँका विवाद मिलाउने परम्परा रहिआएको छ। प्रत्येक वर्ष माघी पर्वका अवसरमा समुदायले बड्घर र चौकीदार छनोट गर्ने प्रचलन रहेको छ। साईकल प्राप्त गरेपछि पैदल हिँड्नुपर्ने बाध्यता हटेको र कार्य सम्पादनमा सहजता आएको लाभग्राहीहरूले बताएका छन्।


साईकल हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष शाही, उपाध्यक्ष निर्मला रोकाय, वडा नम्बर ४ का अध्यक्ष प्रेमबहादुर शाही, प्रशासन शाखा प्रमुख तप्तराज आचार्य, अन्य जनप्रतिनिधि, कर्मचारी तथा थारु समुदायका अगुवा, बड्घर र चौकीदारहरूको उपस्थिति रहेको थियो।
गाउँपालिकाले थारु समुदायको विकास र उत्थानका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै अध्यक्ष शाहीले स्थानीय सरकार सबै जातजाति र समुदायको साथमा रहेको प्रतिबद्धता व्यक्त गरे।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments