काठमाडौं : गृहमन्त्री सुधन गुरूङ ले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरी उपस्थित प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिनुभएको छ।
प्रधान कार्यालय पुग्नुभएका गृहमन्त्री गुरूङलाई प्रहरी महानिरीक्षक दान बहादुर कार्की सहित अतिरिक्त महानिरीक्षक, नायव महानिरीक्षक तथा वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गर्नुभएको थियो। सो अवसरमा उहाँले परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो।
निरीक्षणका क्रममा गृहमन्त्री गुरूङले सङ्ग्रहालय, डिजिटल फरेन्सिक ल्याब, Artificial Intelligence and Advanced Analytics Cell, डाटा सेन्टर तथा पोलीग्राफ सेक्सनको अवलोकन गर्दै ती निकायका गतिविधिबारे जानकारी लिनुभएको थियो।
निरीक्षणपश्चात आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले सीमित स्रोत–साधनका बाबजुद नेपाल प्रहरीले जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो। आगामी दिनमा अझ निर्धक्क र व्यावसायिक रूपमा काम गर्न निर्देशन दिँदै उहाँले प्रहरीको कार्यसम्पादनमा कुनै तहबाट हस्तक्षेप नहुने स्पष्ट पार्नुभयो।
उहाँले नागरिक–प्रहरी सम्बन्ध सुदृढ गर्न शिष्ट व्यवहार, सकारात्मक दृष्टिकोण र सेवा भाव आवश्यक रहेको बताउनुभयो। विपद् व्यवस्थापनमा प्रहरीको अग्रणी भूमिका उल्लेख गर्दै आवश्यक तालिम र साधनस्रोत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, प्रहरी कर्मचारीको वृत्ति विकास वैज्ञानिक कार्यसम्पादन मूल्याङ्कन प्रणालीका आधारमा हुने जानकारी दिनुभयो।
कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठ ले विभिन्न चुनौतीबीच पनि नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएकोमा प्रशंसा गर्नुभयो। उहाँले बदलिँदो परिस्थितिअनुसार कार्यशैली सुधार गर्दै छिटो, प्रभावकारी र परिणाममुखी सेवा प्रवाहमा जोड दिन निर्देशन दिनुभयो।
धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक कार्कीले संविधान र प्रचलित कानुनको परिधिभित्र रही मानव अधिकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गर्दै आएको बताउनुभयो। संगठनलाई समयानुकूल आधुनिकीकरण, प्रविधिमैत्री र जनमुखी बनाउने प्रतिबद्धता दोहोर्याउँदै उहाँले गृहमन्त्रीबाट प्राप्त निर्देशनले संगठनको मनोबल उच्च बनाएको उल्लेख गर्नुभयो।
यसै क्रममा प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले नेपाल प्रहरीको संरचना, जनशक्ति अवस्था, अपराध अनुसन्धान, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय, इन्टरपोल शाखाका कार्य तथा आगामी कार्यदिशाबारे संस्थागत प्रस्तुतीकरण गर्नुभएको थियो।
कार्यक्रममा गृह मन्त्रालयका पदाधिकारी, वरिष्ठ प्रहरी अधिकृतहरू तथा देशभरका प्रदेश प्रहरी कार्यालय, गण, तालिम केन्द्र र जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल सहभागिता रहेको थियो।


