Saturday, April 4, 2026
spot_imgspot_img
Homeसमाजकृषिबैरहवामा साप्ताहिक हाटबजारमा बढ्दो चहलपहल

बैरहवामा साप्ताहिक हाटबजारमा बढ्दो चहलपहल

बैजनाथ गाउँपालिका–३ बैरहवामा प्रत्येक शुक्रबार सञ्चालन हुँदै आएको साप्ताहिक हाटबजार आज पनि उत्साहजनक रूपमा सम्पन्न भएको छ। स्थानीय किसान, व्यवसायी तथा उपभोक्ताको सक्रिय सहभागिताले बजार क्षेत्रमा बिहानैदेखि चहलपहल बढेको देखिएको थियो।
हाटबजारमा स्थानीय स्तरमा उत्पादन भएका ताजा तरकारी, फलफूल, धान, गहुँ, मकै, दाल, तेलहन, मौसमी बाली, कुखुरा, अण्डा तथा घरेलु परिकारहरू बिक्रीका लागि राखिएका थिए। किसानहरूले आफ्नै बारीमा उत्पादन गरेका कृषि उपज सिधै उपभोक्तासम्म पुर्‍याउँदा बिचौलियाको भूमिका घटेको र उचित मूल्य पाउन सहज भएको बताएका छन्।
नवयुग कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक धन बहादुर थापाले हाटबजारले किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गरेको बताउनुभयो। उहाँका अनुसार यसले स्थानीय उत्पादनलाई बजार सुनिश्चित गर्दै किसानको आम्दानी वृद्धि गर्न सहयोग पुगेको छ। साथै उपभोक्ताले पनि ताजा, गुणस्तरीय र सुलभ मूल्यमा कृषि सामग्री खरिद गर्न पाएका छन्।
थापाले सबै क्रेता तथा बिक्रेतालाई हाटबजारमा सहभागी भई स्थानीय कृषि उत्पादन खरिद–बिक्री गर्न आग्रह गर्दै यस अभियानले स्थानीय अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।
साप्ताहिक हाटबजारले ग्रामीण क्षेत्रमा उत्पादन, उपभोग र आम्दानीको चक्रलाई चलायमान बनाउँदै उद्यमशीलता प्रवर्द्धन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सकारात्मक योगदान पुर्‍याउँदै आएको स्थानीयवासीको भनाइ छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments