बाँके । नेपालगन्जदेखि भारतको राजधानी दिल्लीसम्म सिधा “नेपाल–भारत मैत्री बस” सेवा आगामी वैशाख १ गतेदेखि सञ्चालनमा आउने भएको छ। आइतबार आयोजित कार्यक्रममार्फत चार वटा ट्राभल तथा यातायात कम्पनीबीच औपचारिक सम्झौता हस्तान्तरण भएसँगै सेवा सुरु गर्ने सहमति भएको हो।
नमस्ते नेपाल यातायात व्यवसायी प्रा.लि. का अध्यक्ष निम बहादुर चलाउने (निरज), महासचिव दिनेश कुमार श्रेष्ठ (विश्व), कोषाध्यक्ष शिव प्रसाद डाँगी र सदस्य गोकर्ण वलीको तर्फबाट सम्झौतामा हस्ताक्षर गरिएको थियो। त्यस्तै कृष्णसार यातायात प्रा.लि. का अध्यक्ष रबि मल्ल, लर्ड सिद्धार्थ ट्राभल्स प्रा.लि. (नेपालगन्ज–२, पुष्पलालचोक) का अध्यक्ष सुन्दरमान विश्वकर्मा र सचिव कुशल दलामी तथा वेस्ट मिड वेस्ट टुर एन्ड ट्राभल प्रा.लि. (कोहलपुर–११) का प्रबन्धक लवराज प्रधानले संयुक्त रूपमा सम्झौतापत्र आदान–प्रदान गर्नुभएको हो।
दैनिक सेवा, सहज बुकिङ सुविधा
यो बस सेवा कोहलपुर–नेपालगन्ज–रुपैडिया हुँदै दिल्लीसम्म दैनिक सञ्चालन गरिने जनाइएको छ। यात्रुले कोहलपुर–११ न्यु रोडस्थित वेस्ट मिड वेस्ट टुर एन्ड ट्राभल, नेपालगन्ज पुष्पलालचोकस्थित लर्ड सिद्धार्थ ट्राभल्स, नमस्ते नेपाल कोहलपुर बसपार्क तथा कृष्णसार यातायात गुलरिया (बर्दिया) बाट टिकट बुकिङ गर्न सक्नेछन्।
सोफा सिटर र स्लीपर, फुल एसी र निःशुल्क वाइफाइ
कृष्णसार यातायातका अध्यक्ष रबि मल्लका अनुसार कोहलपुर र नेपालगन्जबाटै दिल्ली, जयपुर, देहरादूनलगायतका सहरसम्म सोफा सिटर र स्लीपर सुविधायुक्त बसमार्फत आरामदायी यात्रा गर्न सकिनेछ। बसमा फुल एसी, निःशुल्क वाइफाइ तथा आधुनिक सुविधा उपलब्ध हुने जनाइएको छ।
नमस्ते नेपाल यातायात व्यवसायी प्रा.लि.का अध्यक्ष निरज चलाउनेले नेपालगन्ज–दिल्ली लग्जरी बस सञ्चालनले यात्रुलाई थप सहजता र सुविधा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
यस सेवा सुरु भएसँगै बाँके र आसपासका जिल्लाका यात्रुलाई भारतका प्रमुख सहरसम्म सीधा, सुरक्षित र आरामदायी यात्रा विकल्प उपलब्ध हुने अपेक्षा गरिएको छ।



