सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका कठोर प्रावधानहरू विरुद्ध प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिले सांकेतिक खबरदारी सभा सम्पन्न गरेको छ।
खबरदारी सभामा मुखमा कालो पट्टी बाँधेर र प्लेकार्ड प्रदर्शन गर्दै प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिले न्युरोडमा विरोध जनाएको छ। विरोध कार्यक्रममा विधेयकको कठोर आलोचना गर्दै यसले नागरिक स्वतन्त्रता र संविधान प्रदत्त प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयास गरेको भन्दै कडा असहमति जनाइयो। प्रेस सेन्टर नेपाल कोहलपुरका नगर अध्यक्ष निरज सिंहले विधेयकका केही प्रावधानहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेको र यसले विचार स्वतन्त्रतामाथि गम्भीर हमला गर्ने बताए।
लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदिप वाग्लेले सरकारको नीति आम नागरिक र सञ्चार क्षेत्रको मुख थुन्ने रणनीति रहेको आरोप लगाए। उनले भने, “राष्ट्रिय सभामा दर्ता गरिएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकले सरकारको आलोचना गर्न नदिने नियत प्रस्ट देखिन्छ। मिडिया सरकारको आलोचक र खबरदारी गर्ने शक्ति हो, यसको स्वभाविक चरित्रलाई कुण्ठित गर्ने प्रयासस्वरूप सरकारले यस्तो विधेयक ल्याएको छ। हामी यसविरुद्ध सशक्त संघर्ष गर्छौं।”
खबरदारी सभामा स्थानीय सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न क्षेत्रका उपस्थिति रहेको थियो।