बैजनाथ, बाँके – बैजनाथ माध्यमिक विद्यालयले आफ्नो ५६औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख श्री लोक बहादुर शाही प्रमुख अतिथिका रूपमा उपस्थित उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री दल बहादुर सुनार, स्थानीय जनप्रतिनिधिहरू, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयका उपलब्धिहरू स्मरण गर्दै भावी योजनाहरूमा छलफल गरिएको थियो।बैजनाथ माविले स्थापनाकालदेखि नै शैक्षिक सुधार र विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकता दिँदै आएको छ। हालै सञ्चालन गरिएको ‘विद्यार्थीको घर आगमनमा शिक्षक’ अभियान विद्यालय र अभिभावकबीचको सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यले ल्याइएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री दल बहादुर सुनारले विद्यालयको उन्नति र भावी योजनाबारे प्रकाश पार्दै भन्नुभयो, “बैजनाथ माध्यमिक विद्यालयलाई जिल्लाकै उत्कृष्ट शिक्षालय बनाउन निरन्तर लागिरहनेछौँ।”
वार्षिकोत्सवको अवसरमा विद्यालयले सांस्कृतिक तथा शैक्षिक गतिविधिहरू प्रस्तुत गर्यो। विद्यार्थीहरूले नृत्य, गायन, नाटक तथा साहित्यिक प्रस्तुति दिएर कार्यक्रमलाई मनोरञ्जनात्मक बनाए। साथै, विज्ञान र प्रविधिसँग सम्बन्धित परियोजना प्रदर्शन तथा आविष्कारात्मक कार्यहरू विद्यार्थीहरूले प्रस्तुत गरे।
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख श्री लोक बहादुर शाहीले विद्यालयको निरन्तर प्रगतिप्रति सन्तोष व्यक्त गर्दै भन्नुभयो, “बैजनाथ माविको शैक्षिक सुधारका पहलहरू प्रशंसनीय छन्। विद्यालय, अभिभावक, शिक्षक, र विद्यार्थीहरू मिलेर अझ उत्कृष्ट शिक्षाको वातावरण बनाउन सक्छौँ।”
भविष्यका योजनाहरू : प्रविधिमैत्री शिक्षाको दिशामा अघि बढ्दै विद्यालयले आगामी दिनहरूमा सूचना प्रविधि, विज्ञान प्रयोगशाला, पुस्तकालय विस्तार तथा स्मार्ट शिक्षण पद्धति अवलम्बन गर्ने योजना बनाएको छ। प्रधानाध्यापकका अनुसार, विद्यालयलाई डिजिटल शिक्षालय बनाउने लक्ष्य राखिएको छ, जसका लागि स्थानीय समुदाय तथा सरोकारवालाहरूको सहयोग आवश्यक छ।
विद्यालय व्यवस्थापन समितिले सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायलाई विशेष धन्यवाद ज्ञापन गर्दै विद्यालयको निरन्तर उन्नतिका लागि सहकार्य आवश्यक रहेको बताएको छ। फोटो फिचर …