शान्ति सुनार
बाँके : जिल्लाको बैजनाथ गाउँपालिकामा कक्षा ८ र कक्षा १० को परिक्षालाई मध्यनजर गरेर जडान गरिएका सीसी क्यामराको उद्घाटन गरिएको छ । आसन्न परिक्षालाई मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले जडान क्यामराको गाउँपालिकामा उद्घाटन गरिएको हो । बैनजाथ गाउपालिकामा रहेका १२ वटा परिक्षा केन्द्रहरुमा जडान गरिएका सिसीटिभी क्यामराको गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले एक कार्यक्रमका बीच उद्घाटन गर्नु भएको छ ।
गाउँ कार्यपालिकाको कार्यालयमा जडान गरिएको कन्ट्रोल रुमको अध्यक्ष शाहीले उद्घाटन गर्नु भएको हो । बैजनाथ गाउँपालिकाले कक्षा ८ र कक्षा १० को परिक्षा नजिकिए गाउँपालिकाभर रहेका १२ वटा केन्द्रहरुमा सीसीटिभी जडान गरेको छ । गाउँपालिकाभर आधारभूत र माध्यमिक तहगरी कुल १३४ वटा सिसीटिभी क्यामराको जडान गरिएको गाउँपालिका अध्यक्ष शाहीले बताउनुभयो । आधारभूत तह कक्षा ८ र माध्यमिक तह एसईई परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन सीसीटिभी क्यामरा जडान गरिएको अध्यक्ष शाहीले बताउनुभयो ।
गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख विश्वराज ढकालले गाउँपालिकाभरीका परिक्षा केन्द्रलाई बैजनाथ गाउँपालिकाको कार्यपालिकाको कार्यालयबाट कन्ट्रोल रुमबाट परीक्षा नियन्त्रण, अनुगमन गर्न सकिनेगरी तयारी गरिरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार बैजनाथमा माध्यामिक शिक्षा परीक्षा (एसईई) तर्फ चार वटा केन्द्र रहेका छन् । यसैगरी आधारभूत तह कक्षा आठको परीक्षाका लागि आठ वटा परिक्षा केन्द्र रहेको शाखा प्रमुख ढकालले बताउनुभयो । बैजनाथमा आधारभूत तह कक्षा आठतर्फ कूल १ हजार ५ सय ३० जना परीक्षार्थी सहभागी हुने उहाँको भनाइ छ । बैजनाथमा १ हजार ३ सय जनाले एसईई परिक्षा दिदैछन् ।